२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोकका पहिरो पिडित, बस्ती र सडक अनुगमनमा माओवादी नेता सुबोध

साउन ३० , नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधब सापकोटा ‘सुबोध’ले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा बर्षातले पुर्याएको क्षतिबारे अनुगमन गर्नुभएको छ ।

गएको साता परेको भारी वर्षाका कारण नगरपालिकाका बस्ती तथा सडकमा क्षति भएपछि नेता सुबोध अनुगमनका लागि गाउँ पुग्नुभयो। वर्षाले नगरपालिकाका केही बस्तीमा ठूलो क्षति पुर्याएपछि बाढि पहिरो पिडितका गुनासा सुन्न उहाँ आज सिन्धुपाल्चोक पुग्नुभएको हो। उहाँले बाढि पहिरोले क्षति पुर्याएका वडा नम्बर १० मा पर्ने हर्रे, जल्किने र जंगल छापका बस्तीको अवलोकन गर्नुभयो ।

सोही क्रममा पहिरो पिडितले आफुहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् । नेता सुबोधले उनीहरुका गुनासा सुन्दै राहत र संरक्षणका लागि आफुले पहल गर्ने आश्वासन दिनुभयो । गत साता परेको भारी वर्षाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको हर्रे र जल्किनेका करिब १५ घर उच्च जोखिममा परेका छन् । पहिरोले विस्थापित परिवारहरु अहिले अस्थाई टहरामा बसोबास गर्दै आएका छन् ।

मन्दिर, पोल्ट्रिफार्म, विद्यालय र सडकमा समेत वर्षाले क्षति पुर्याएको छ । जल्किने–कदम्बास– भैँसे सडकखण्डको विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याएको छ । पिडितहरुको अहिले नगरपालिकाले लगत संकलनको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्