२०८२ असार १९

सिन्धुपाल्चोकमा विद्युत आपूर्ति अनियमित : विपद् पूर्वतयारीका लागि नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं – उत्पादनका हिसाबले अग्रणी मानिने सिन्धुपाल्चोक जिल्ला आज पनि विद्युत आपूर्तिको चरम समस्याबाट गुज्रिरहेको छ। दिनहुँजसो पचासौँ पटकसम्म बत्ती जाने समस्याले स्थानीयवासी हैरान छन्। सामान्य हावाहुरी वा वर्षात्का कारण पनि सेवा अवरुद्ध हुने अवस्था छ। झन् विपद्का बेला सबैभन्दा पहिले विद्युत सेवा अवरुद्ध हुँदा संचार, उद्धार तथा टेलिफोनजस्ता अत्यावश्यक सेवामा समेत समस्या उत्पन्न हुने गरेको छ, जसले जनतालाई थप संकटमा पार्ने गरेको छ।

यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्य सांसद माधव सापकोटा ‘सुबोध’ले नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएका छन्। असार १२ गते रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सांसद सापकोटाले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गरी गहन छलफल गरेका थिए। भेटमा उनले सिन्धुपाल्चोकमा विद्युत सेवा नियमित र भरपर्दो बनाउनुपर्ने, विपद् पूर्वतयारीको सन्दर्भमा आवश्यक समन्वय र सजगता कायम गर्नुपर्ने विषयमा विशेष जोड दिएका थिए।

भेटमा सांसद सापकोटाले सिन्धुपाल्चोकमा हाल देखिएको विद्युत अवरोधजन्य समस्या दीर्घकालीन समाधानका लागि योजनाबद्ध तरिकाले काम गर्न आग्रह गरे। उनले बाढी, पहिरो र प्राकृतिक प्रकोपजन्य अवस्थालाई मध्यनजर गर्दै विद्युत पूर्वतयारीको प्रभावकारी योजना बनाउनुपर्ने, ट्रान्सफर्मर, पोल, केबल लगायत आपतकालीन सामग्रीहरू समयमै तयारी अवस्थामा राख्नुपर्ने, अत्यावश्यक सेवाहरूलाई लक्षित गर्दै वैकल्पिक र ब्याकअप व्यवस्थाहरू विकास गर्नुपर्ने, स्थानीय तहसँग समन्वयमा रहेर आपूर्ति व्यवस्थापन सुदृढ बनाउनुपर्ने तथा विद्युतीय संरचनाहरूको नियमित मर्मतसम्भार र आपतकालीन पूर्वतयारी प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

सांसद सापकोटाले समयमै आवश्यक पूर्वतयारी नहुनुका कारण प्रत्येक विपद्का बेला जनताले अनावश्यक पीडा भोग्नुपरेको उल्लेख गर्दै यसतर्फ नेपाल विद्युत प्राधिकरणले विशेष जिम्मेवारीपूर्वक ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। सो भेटघाटबाट भविष्यमा सिन्धुपाल्चोकका नागरिकले सहज, सुरक्षित र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्