चौतारा, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा स्वाभिमानी बहुउद्देश्यीय सहकारी संस्था लि., चौतारा–५ द्वारा आयोजित तीनदिने मौरी पालन तालिम सम्पन्न भएको छ। असार २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको उक्त तालिममा उपस्थित २० जना सहभागीले मौरी पालन सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्राप्त गरेका थिए।
तालिमको समापन कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटा, नगर उपप्रमुख, वडा नं. ५ का अध्यक्ष र वडा सदस्यहरू तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समापन समारोहको अवसरमा सहभागी २० जनालाई मौरी पालन प्रारम्भ गर्नका लागि एक–एकवटा मौरी घार (बक्स) समेत वितरण गरिएको छ।
नगर प्रमुख सापकोटाले कृषि र पशुपालनसँगै मौरी पालनजस्ता सीपमूलक तालिमहरू आत्मनिर्भरताको बाटो खोल्ने उल्लेख गर्दै स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। तालिममा सहभागीहरू उत्साहित देखिएका थिए र आफूले सिकेको ज्ञान व्यवहारमा उतार्ने अठोट व्यक्त गरेका थिए।
यस तालिमले नगरभित्र स्वरोजगारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास लिइएको छ। सानो पाइलाले नगरलाई समृद्धि तर्फको यात्रामा अघि बढाउन महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास उपस्थित सरोकारवाला तथा सहभागीहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्