२०८२ मंसिर ४

मेलम्चीमा नयाँ मालपोत कार्यालय स्थापना, चार स्थानीय तहका नागरिकलाई सहज सेवा हुने

सिन्धुपाल्चोक — मेलम्ची बजारमा नयाँ मालपोत कार्यालय स्थापना हुने भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागमा पठाइएको निर्णयसँगै मेलम्ची नगरपालिकासहित वरपरका तीन गाउँपालिकाका केही वडाहरूलाई समेट्ने गरी कार्यक्षेत्र निर्धारण गरिएको छ।

मेलम्चीमा स्थापना हुने मालपोत कार्यालयले मेलम्ची नगरपालिकाका सम्पूर्ण वडाहरू, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाका सबै वडाहरू, साथै इन्द्रावती गाउँपालिकाका साविक सिम्पालकाभ्रे, कुन्चोक र भोटसिपा गाविस (हालका वडा नं १, २, ३, ९ र १० बाहेक) समेट्नेछ।

मेलम्ची नगर कार्यपालिका र सम्बन्धित गाउँपालिकाहरूको सहमतिमा अघि बढाइएको यस प्रस्ताव अन्तर्गत कार्यालय सञ्चालनका लागि तयारी तीव्र गतिमा भइरहेको छ। मालपोत कार्यालय चौताराका प्रमुख केशव प्रसाद रिजालका अनुसार आगामी आर्थिक वर्षको सुरुआत साउन महिनाबाट सेवा प्रदान गरिने लक्ष्य छ।

यसअघि जग्गा रजिष्ट्रेसन तथा मालपोतसम्बन्धी सेवा लिन नागरिकहरूलाई चौतारा धाउनुपर्ने बाध्यता हट्ने भएको छ। मेलम्चीमा सेवा सुरु भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

स्थानीय जनप्रतिनिधिहरूले मालपोत कार्यालय स्थापनासँगै भू–व्यवस्थापन प्रणाली थप प्रभावकारी, पारदर्शी र जनमैत्री हुने विश्वास व्यक्त गरेका छन्। यसले नागरिकको समय, खर्च र सास्ती बचत हुने तथा विकास कार्यमा समेत सहजता आउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्