२०८२ असार २
                           

प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्ती चौतारामा, चार स्रष्टालाई सम्मान

चौतारा, सिन्धुपाल्चोक —“गोल्डेन भ्वाइस अफ नेपाल” का रूपमा परिचित स्वर्गीय गायक प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती चौतारामा भव्य रूपमा मनाइएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा सहिद स्मृति भवन, चौतारामा सम्पन्न उक्त ऐतिहासिक कार्यक्रम प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको हो।

‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ -वरिष्ठ गायिका मीरा राणा

कार्यक्रममा वरिष्ठ गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ प्रदान गरिएको छ। सम्मानसँगै उनलाई एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिएको हो। सो सम्मान नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले हस्तान्तरण गरेका थिए। ब्यक्तिगत समस्याका कारण उनि भने कार्यक्रममा उपस्थित थिएन । प्रदान गरिएको सम्मान र पुरस्कार उनको भाइले ग्रहन गरेका थिए ।

मेयर सापकोटाले प्रेमध्वज प्रधानलाई सिन्धुपाल्चोकको गौरव स्रष्टा भन्दै श्रद्धाञ्जलि अर्पण गरे। उनले गायक प्रधानले नेपाली संगीतमा पुर्‍याएको योगदानले जिल्लाको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याएको बताए।

‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान २०८२-वरिष्ठ वादक  मोहनकृष्ण कार्की ढली

कार्यक्रममा  वरिष्ठ वादक  मोहनकृष्ण कार्की ढलीलाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान २०८२’ र पुरस्कारको राशी ५० हजार एक रुपैयाँ  प्रदान गरिएको छ।

‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’-गायक सुरजकुमार थापा

गायक सुरजकुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’ प्रदान गरिएको छ।  पुरस्कारको राशी ५० हजार एक रुपैयाँ रहेको छ।

‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार २०८२’- गायक चन्द्रसिंह घले

सिन्धुपाल्चोक निवासी प्रतिभावान गायक चन्द्रसिंह घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार २०८२’ प्रदान गरिएको छ, जसको राशी २५ हजार एक रुपैयाँ रहेको प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिइन्।

प्रत्येक दुई वर्षमा प्रदान गरिने यी सम्मान तथा पुरस्कारहरू नेपाली सङ्गीत क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरूको योगदानको कदर स्वरूप प्रदान गरिँदै आएको प्रतिष्ठानका संस्थापक अध्यक्ष किरण प्रधानले जानकारी दिइन्। किरण प्रधान गायक प्रेमध्वज प्रधानकी धर्मपत्नी समेत हुन्।

कार्यक्रममा गायक प्रधानका कालजयी गीतहरूको विशेष प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम, र श्रद्धाञ्जलि प्रस्तुत गरिएको थियो। पारिवारिक स्रोतका अनुसार, गायक प्रधानले आफ्नो स्मृतिमा जन्मभूमिमा कार्यक्रम आयोजना गर्न चाहेको इच्छा जीवनकालमै व्यक्त गरेका थिए।  कार्यक्रमले संगीतकर्मीहरूप्रति सम्मान प्रकट गर्दै नेपाली संगीतको गौरवशाली परम्परालाई जगेर्ना गर्ने उद्देश्य लिएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्