२०८१ श्रावण १२
                           

बगाममा पहिलो पटक टेलिकमको टावर सञ्चालन, छायो स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ,१५ माघ
सम्झना कार्की ,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बिभिन्न गाउँमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेपछि स्थानियबासी खुसी भएका छन् । नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका वडा नं १ बगाममा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो ।
उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेवा विस्तार गरेको पालिका निवर्तमान अध्यक्षका स्वकीय सचिब ध्रुब थापाले बताउँनुभयो ।ग्रामीण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोशी गा.पालिका निवर्तमान अध्यक्ष राजकुमार पौडेलले बताउँनुभयो ।

‘टेलिकमले अहिले टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नति गरी अत्याधुनिक प्रविधिको फोरजी सेवामार्फत भ्वाइस र उच्च गतिको इन्टरनेट (मोबाइल डेटा) सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ पौडेलले भन्नुभयो ।

पहिले टावर नहुँदा दुःख पाएका नागरिकले टेलिकमको थ्रीजी सेवा एकसाथ सञ्चालनमा आएपछि भोटेकोशी गाउँपालिकाका बगाम ,छगाम ,साबुखानी, गिप्ते ,तारतुङ ,सेबुङ लगायतका झण्डै १ सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय थापाले बताउँनुभयो । यसअघि फोन मार्फत कुराकानी गर्न १ घण्टाको पैदल मार्फत लिस्तीमा पुग्नु पर्ने बाध्यता यहाँका स्थानीयलाई थियो । यस सेवाले फोन सम्पर्कका लागी टाढा जानुपर्ने बाध्यता हटेको छ ।

टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा डेटामार्फत इन्टरनेट चलाउन सहज भएको  छ । टावर निर्माणसँगै त्यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त थप सहज भएको स्थानीय तथा समाजसेवी दावा लामाले बताउँनुभयो ।

शनिवार भोटेकोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष राजकुमार पौडेल र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा सो टावर सञ्चालनमा ल्याइएको हो भने गाउँपालिका निवर्तमान अध्यक्ष पौडेल र स्थानीय नेताहरुको  रोहबरमा उतm टावर निमार्ण भएको हो ।

बगाममा बनेको नेपाल टेलीकमको टावर सञ्चालनमा आएपछि पहिलो पटक यस क्षेत्रका बासिन्दा टेलिफोन सेवासँग जोडिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्