२०८२ असार २
                           

सरकार- सीमित स्राेत साधनका कारण मनसुनजन्य विपद‍्मा उद्धार र राहतका लागि चाहेर पनि धेरै काम गर्न नसक्ने अवस्था

सरकारले सीमित स्राेत साधनका कारण मनसुनजन्य विपद‍्मा उद्धार र राहतका लागि चाहेर पनि धेरै काम गर्न नसक्ने अवस्था रहेको बताएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलनमार्फत यसबारेमा जानकारी दिएको हो । प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले जोखिम कम गर्न आवश्यक उपकरणहरू तयारी अवस्थामा राखे पनि पर्याप्त सङ्ख्यामा नहुदाँ विपद्पछिको उद्धार र राहतमा समस्या हुनसक्ने बताएको हो । तर सीमित स्राेत साधनलाई अधिकतम उपयोग गर्ने योजना रहेको  छ ।

प्रवक्ता केसीका अनुसार सुरक्षा निकायसँग रहेको प्रविधि, खोज सामग्री, जनशिक्तको अभाव लगायतका समस्यालाई छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।

यसैबीच सरकारले सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि नेपाली सेनाबाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ ।

मनसुनजन्य विपद् न्यूनीकरण, विपद्पछिकाे राहत वितरण, उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ । नेपाली सेनाले पनि त्यहीअनुसार जनशक्ति तयार पारेको छ ।

प्राधिकरणका अनुसार पछिल्लो १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन् । यी घटनामा २ हजार ३ सय १७ जनाको ज्यान गएको छ । त्यस्तै ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्