२०८२ असार ३
                           

चौतारामा भोलि फुड फेस्टीभल, तयारी पूरा

सिन्धुपालचोक – आदिवासी जनजाति समुदायको संस्कृति, परम्परा र परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुपालचोकको चौतारा पिपलबोट नजिक ‘आदिवासी जनजाति फुड फेस्टीभल’ आयोजना हुँदैछ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा हुन लागेको यस विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महासंघकी अध्यक्ष रिना श्रेष्ठले जानकारी दिएकी छिन्।

फुड फेस्टीभलमा नेवार, तामाङ, शेर्पा, गुरुङ, घले लगायतका आदिवासी समुदायहरूले आ–आफ्ना परम्परागत र विशेष परिकार प्रस्तुत गर्नेछन्। फेस्टीभलमा १२ वटा स्टलहरू राखिनेछ, जहाँ सहभागीहरूले विभिन्न जातीय खानाका परिकारहरूको स्वाद लिन सक्नेछन्। यी परिकारहरू किन्न र स्थलमै बसेर खान सकिने व्यवस्था गरिएको छ।

कार्यक्रम विहान ११ बजेदेखि सुरु हुनेछ, जसमा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटा रहनेछन्। कार्यक्रमलाई रंगीन बनाउनका लागि राष्ट्रिय संगीतकर्मी संघको विशेष सांगीतिक प्रस्तुति समेत हुने बताइएको छ।

फेस्टीभलमा सहभागी सबै आदिवासी समुदायहरू आ–आफ्नो जातीय भेषभूषामा सजिएर आउनेछन् र परम्परागत नाचगान, गीत संगीत, लोक संस्कृति प्रस्तुत गरेर माहोललाई सांस्कृतिक रूपमा जीवित बनाउनेछन्। यसले जनजाति समुदायको मौलिकता झल्काउने र नयाँ पुस्तालाई आफ्नो संस्कृति चिनाउने माध्यम हुने विश्वास गरिएको छ।

महासंघकी अध्यक्ष रिना श्रेष्ठका अनुसार, यो कार्यक्रमले आदिवासी जनजातिहरूको खानपिन संस्कार, सांस्कृतिक सम्पदा र सामाजिक एकतालाई प्रवर्द्धन गर्नेछ। उनले भनिन्, “हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्न र नयाँ पुस्तालाई यसको महत्व बुझाउन यो कार्यक्रम आयोजना गरेका हौँ। साथै, यो फेस्टीभल पर्यटन प्रवर्द्धनको दृष्टिकोणले पनि महत्त्वपूर्ण हुनेछ।”

सिन्धुपालचोक जिल्ला विभिन्न आदिवासी जनजातिको बसोबास रहेको क्षेत्र हो। यहाँका जनजातिहरूको आफ्नै छुट्टै पहिचान, भाषा, संस्कृति, रहनसहन र खानपिनको शैली छ। फुड फेस्टीभल जस्ता कार्यक्रमहरूले तिनै बहुआयामिक पक्षलाई सार्वजनिक गराउने र अन्य समुदायलाई समेत त्यसको बारेमा जानकारी दिने अवसर प्रदान गर्ने गर्छ।

साँस्कृतिक कार्यक्रममार्फत मनोरञ्जनको साथै स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन पनि यो फेस्टीभलको मुख्य उद्देश्य हो। आयोजकहरूले स्थानीय उत्पादन, जडिबुटी, घरेलु परिकार र परम्परागत पकाउने शैलीलाई प्राथमिकता दिइरहेका छन्।

स्थानीय बासिन्दा, पर्यटक, संस्कृतिप्रेमी, विद्यार्थी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सबैलाई फेस्टीभलमा सहभागी भएर आदिवासी जनजातिको विविधता, आत्मीयता र स्वादको अनुभव लिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्