२०८१ मंसिर २३
                           

‘पुसको पाक्य, माघको खाक्य’

सिन्धुपाल्चोक ,३० पुस
पुसको अन्तिम दिन पकाउने माघको पहिलो दिन बिहान सूर्य नउदाउँदै नुवाइ-धुवाइ गरी परिकार खाने चलन छ कती ठाउमा रहेछ। माघको पहिलो दिन घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी खाइन्छ मासको दाल, चामल हालेर पकाइने खिचडी सजिलोसँग पच्ने गर्छ । मासको दालमा भएको लौहतत्वले रगत बढाउँछ । माघे संक्रान्तिमा खाइने तिलको लड्डु बजारमा प्रायः माघ महिनाभरि नै पाइन्छ । गाउँघरतिर तिलले बनेको तिलौरी खाने गरिन्छ ।
केही वर्षअघि म अमेरिका जाँदा एक परिचित महिलाले भनिन्, ‘मोलासेस (Molasses) स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ । त्यसैले म हरेक दिन एकचम्चा खाने गर्छु । यसले गर्दा मेरो हड्डी पनि बलियो भएको छ । मेरो शरीरमा रगतको कमी पनि भएको छैन ।’ उनको भनाइ सुनेर मैले भनें, ‘यो त बडो राम्रो कुरा रहेछ, म पनि किनेर नेपाल लैजान्छु ।’
अनि उनले सिसीमा राखेको मोलासेस देखाइन् । मैले चम्चा लिएर चाखें । त्यो त चाकुको जस्तै स्वादको थियो । तर चाकुमा यस्ता औषधीय गुण त छैनन् होला भन्ने विचार गरें । पछि गुगलमा सर्च गरेर हेर्दा मोलासेस भनेको त ‘चाकु’ नै रहेछ ।अनि मैले चाकुका बारेमा विभिन्न पाठ्य सामग्रीहरु खोजेर अध्ययन गरें । अनि मलाई राम्ररी थाहा भयो कि हामीले कहिलेकाहीँविशेष चाडपर्व तथा समयमा खाने चाकु त ‘रगत बढाउने, हड्डी बलियो बनाउने’ तत्व पो रहेछ ।
चाकु र सखरले स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । तर चिनीले चाहिँफाइदाभन्दा बढी बेफाइदा गर्छ ।चाकु र सखरमा पर्याप्त मात्रामा क्याल्सियम पनि हुन्छ । साथै यसले शरीरमा पर्याप्त मात्रामा ऊर्जा दिन्छ । विभिन्न किसिमका तागत दिने बजारका औषधि होइन कि प्राकृतिक प्रक्रियाबाट बनेको चाकु खाँदा शरीरमा बढी ऊर्जा मिल्छ ।
खिचडी, तिल, चाकुमा धेरै पौष्टिक तत्व भएको थाहा पाएर नै यी खाद्यवस्तु खाने विशेष चाडपर्व नै प्रचलनमा आएको हुनुपर्छ । गर्भवती, सुत्केरीलाई चाकु र घिउ दिने चलन पनि यी वस्तुमा भएको विशेष पौष्टिक गुणहरुकै कारणले भएको हुनुपर्छ ।
माघ १ गते कन्दमूल (तरुल, पिँडालु, सखरखण्ड) खाने चलन छ । यी सबैमा पर्याप्त पौष्टिक ऊर्जा दिने तत्व हुन्छ । यी वस्तुहरु वर्षभरि जुनसुकै बेला पनि खाएर स्वस्थ रहन सकिन्छ । तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुने हुनाले यसलाई शक्तिवद्र्धक खानेकुराको रुपमा लिइन्छ ।
जाडो मौसममा शरीरलाई न्यानो राखिराख्न धेरै शक्ति चाहिन्छ, जुन तरुलमार्फत पूरा हुन्छ । यो रेसादार तरकारी हुनाले कब्जियतको समस्या कम गर्न मद्दत गर्छ । तरुलमा मानवशरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वहरु म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि पनि पाइन्छ । अफ्रिकातिर त यसलाई प्रमुख खाद्यान्नकै रुपमा प्रयोग गरिन्छ ।
तरुलमा पाइने सूक्ष्म पोषक तत्वले चिसोबाट बचाउन मद्दत गर्छ । तरुलको नियमित सेवनले बाथरोग भएका व्यक्तिलाई निकै लाभ मिल्छ । साथै तरुलमा एन्टिअक्सिडेन्ट, भिटामिन ‘सी’ तथा ‘बी’, क्यारोटिन नामक तत्वहरु हुन्छन् । ती तत्वले शरीरमा पौष्टिक तत्व पुर्याउनुका साथै विभिन्न रोगबाट बच्न पनि सहयोग गर्छन् ।
पिँडालु र तरुल दुवै उसिनेर अलिकति नून राखेर स–साना नानीहरुलाई दिन सकिन्छ । तरुल र पिँडालु दुवै तरकारी बनाएर भात, रोटी, चिउरासँग खान सकिन्छ । यसरी पकाउँदा टुसा उम्रेका गेडागुडी हालेपछि त यस्तो तरकारीको पौष्टिकता झनै बढ्न जान्छ । बालबालिकाको छिटो बढ्ने शरीरका लागि बाहिरका क्याप्सुल होइन, यस्ता प्राकृतिक खाना उपयुक्त हुन्छ । सखरखण्ड भिटामिन ‘ए’ र ऊर्जाको राम्रो स्रोत हो ।
थारुहरुले पनि माघी धुमधामसँग मनाउँछन् । यो दिन नयाँकामको थालनी गर्न शुभ मान्छन् । त्यसै गरी उनीहरुको समाजमा नयाँनाइके छान्ने, मीठा परिकार खाने चलन पनि छ ।

माघ १ गते खाइने खाद्यवस्तुले शरीरमा न्यानो दिने भएकाले सांकेतिकरुपमा यी खाना खाइन्छ तर अन्य बेलामा पनि यस्ता पदार्थको प्रयोग गरे रक्तअल्पता र कुपोषण कम हुन्छ ।यस्ता वस्तुहरुमा पर्याप्त मात्रामा रेसादार पदार्थ हुन्छन् । त्यसैले कब्जियत हटाउन र शरीरलाई मोटोपनबाट बचाउन पनि यस्ता खाना लाभदायक हुन्छन् ।अरुना उप्रेती

प्रतिक्रिया दिनुहोस्