२०८२ कार्तिक २

अखिल नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा नेपाल

अशोक पराजुली – नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा भुवन नेपाल चयन भएका छन् ।

आज सहिद स्मृति भवन चौतारा गैरीगाउँमा भएको महासंघको पहिलो जिल्ला सम्मेलनबाट नेपालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

पहिलो जिल्ला सम्मेलनले सर्वसम्मत चयन गरेका पदाधिकारीमा रेशम सुन्दास उपाध्यक्ष, रितिक परियार सचिव, विनोद तामाङ, राजन बुढाथोकी सह सचिब र रिया श्रेष्ठ कोषाध्यक्ष रहेकी छन् ।

जिल्लाका विभिन्न पालिकाबाट उपस्थित भएका प्रतिनिधिहरुबाट नयाँ नेतृत्व सहितको ३१ सदस्यीय समिति चयन गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं चौतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको प्रथम सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका सह अध्यक्ष जनक बर्तौला, माओवादी केन्द्र सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द पराजुलीको सहभागी थियो ।

यस्तै कार्यक्रममा महासंघका केन्द्रिय सचिव तथा बागमती प्रदेश संयोजक गोविन्द घिमिरे, केन्द्रिय सचिव हिक्मत थपलिया, जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगाल लगायतको उपस्थिति रहेको थियो ।

पहिलो सम्मेलनबाट अध्यक्षमा चयन भएका नेपालले खेलकुद देश विकासको समेत एक अङ्ग भएकोले खेलकुद क्षेत्रको विकासका लागि लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्