सिन्धुपाल्चोक -लिसंखुपाखर गाउँपालिका–१, निङ्गाले बागखोर स्थित मुडे–मेलुङ सडकखण्डमा शुक्रवार साँझ ५ बजे यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। उपचारको लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल ल्याइएका ती चालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न बस र सवारी चालक दोलखा कालिन्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधव बहादुर कार्की प्रहरी नियन्त्रणमा रहेका छन्। मृतक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइली भएको पुष्टि भएको छ।
घटनास्थलमा प्रहरी चौकी मुडे, इलाका प्रहरी कार्यालय बाह्रबिसे, प्रहरी चौकी बलेफी तथा ट्राफिक प्रहरीसहित २० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। बाटोमा सवारी आवागमन भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। दुर्घटनामा संलग्न बसलाई साँझ प्रहरी चौकी लामोसाँघुमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्