२०८१ श्रावण १२
                           

सुन्दर, सुमन र ऋतुले गरे रचना वाचन

काठमाण्डौ- गतिशील साझा साहित्य आवाजको आयोजनमा एवम् मधुवन गोधुलीको साथी, र आधुनिक साहित्य परिषद्को सह–आयोजनामा विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौको लाजिम्पाटस्थित डिल्लीरमण पुस्तकालयमा शनिबार भएको विशेष रचना वाचन कार्यक्रममा कवि सुन्दर शिरीष, सुमन स्याङ्बो र ऋतु पाण्डेले दुईदर्जन भन्दा बढी सिर्जना वाचन गरेका थिए । ५औं शृङ्खला अन्र्तगत भएको विशेष रचना वाचन कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा.सैलेन्द्रुप्रसाद नेपालले अबको साहित्य नेपाली साहित्यको मानक बन्ने धारणा व्यक्त गरे । ‘आज सुनिएको सिर्जनाहरु अत्यन्तै उम्दा थिए’, उनले भने– ‘अब नेपाली साहित्य विश्वसाहित्यसम्म पुग्न सक्छ भन्ने मलाई लागेको छ ।’ वाचन भएको सिर्जना प्रतिनिधि सिर्जना भएको भन्दै नेपालले भोलीकको नेपाली साहित्य कता जाँदैछ भन्ने प्रस्तुत भएका सिर्जनाले देखाएको बताए ।

वाचन गरिएको सिर्जनामाथी सप्तमी साहित्य सञ्जालका अध्यक्ष एवम् साहित्यकार राजनप्रसाद न्यौपाने टिप्पणी गरेका थिए । टिप्पणी गर्दै न्यौपानेले सुन्दर शिरीषका कविता अहिलेको युगको बोकेको शसक्त कविता भएको बताए । ‘विम्व, सौन्दर्य र जनजीवनलाई शसक्त रुपमा सुन्दर शिरीषले प्रस्तुत गर्नुभयो’, न्यौपानेले भने– ‘उहाँको सिर्जना अहिलेको युग बोकेको शसक्त कविताको रुपमा मैले पाएको छु ।’

त्यस्तै सुमन स्याङ्बोको मुक्तक निक्कै चोटिलो रहेको र समाजका विकृति, विसंगतिप्रति गहिरो प्रहार भएको बताए । न्यौपानेले ऋतु पाण्डेको गजलमाथि टिप्पणी गर्दै प्रेम र जीवनलाई संयोजन गरिएको मीठो गजल भएको बताए ।

गतिशील साझा साहित्य आवाजका अध्यक्ष नवराज विष्ट ‘सफल’ को अध्यक्षतामा भएको कार्यक्रमको पहिलो खण्डमा डेढजर्जन भन्दा बढी स्रष्टाहरुले सिर्जना वाचन गरेका थिए । ‘डेढवर्ष अघि फेसबुकमार्फत विश्वभर छरिएर रहेका र दुर दराजमा लुकेर बसेका साहित्यिक स्रष्टाहरुलाई एकीकृत गर्ने अभिप्रायले यो संस्था खोलेका थियौं’, अध्यक्ष विष्टले भने– ‘हामीले स्थापनापछि विभिन्न कार्यक्रमहरु गर्यौं, आजको विशेष रचना वाचन कार्यक्रम निक्कै उत्साहपूर्ण रहयो ।’ कार्यक्रम सफल बनाउन जुट्ने सबैप्रति विष्टले धन्यवाद प्रदान गरे ।

विशेष रचना वाचन कार्यक्रममा रचना वाचन गर्ने विशेष स्रष्टाहरुलाई डा.सैलेन्द्रुप्रसाद नेपालले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा स्रष्टाहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्