२०८२ असार २
                           

माओवादी विचारधारा बिच छिट्टै एकता हुन्छ – प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी विचारधारा र सच्चा कम्युनिष्ट पार्टीहरुबिच छिट्टै एकता हुने बताएका छन् ।

माओवादी केन्द्र सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको आज काठमाडौं थापागाउँ स्थित काठमाडौं ब्याङ्केटमा उद्घाटन गर्दै प्रचण्डले आजै मात्र अन्य दुई पार्टीसँग एकताको विषयमा छलफलमा जुट्न लागेको र छिट्टै सच्चा कम्युनिष्ट पार्टीहरुबिच एकता गरेर समाजबादी यात्रालाई बलियो ढङ्गले अगाडि बढाउने बताए ।

उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताए । ‘हामी शान्ति प्रक्रियामा आएपछि पार्टीले विभिन्न गुट–उपगुट र फुट बेहोर्नुपर्‍यो, अहिले फेरि एकताको प्रक्रिया अघि बढेको छ, मलाई विश्वास छ, अब छिट्टै माओवादी धाराहरू मूलभूत रूपमा एकता भइसकेका हुनेछन्’ उनले भने ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन् । उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गरे ।

प्रचण्डले अर्को प्रसङ्गमा भने – पछिल्लो पटक आफू प्रधामन्त्री हुँदा गर्न सुशासन, सामाजिक न्याय, अन्तरराष्ट्रिय सम्बन्ध सुदृढीकरण र छिमेकीसँग नेपालको हित अनुकुल सहमति र सम्झौता गर्न लिइएका पहलको परिणामस्वरुप जनतामा माओवादीप्रतिको आशा र भरोसा जागेको समेत दाबी गरे ।

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो पार्टीले शहीद, बेपत्ता परिवार, अपाङ्गता भएका व्यक्तिको पक्षमा केही काम गरेको भए पनि केही बाँकी रहेको बताए ।  पछिल्लो पटक आफ्नो पार्टीले झापादेखि कपिलवस्तुसम्म आइपुग्दा लाखौँ जनतासँग संवाद गरेको पनि उनले बताए ।

सोही कार्यक्रममा सम्बोधन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अब छिट्टै माओवादी धारका राजनीतिक दलबीच एकता हुने र सच्चा कम्युनिष्टहरु एक ठाउँमा धुर्विकरण भएर एकताबद्ध हुने बताए ।

समन्वय समितिको दोस्रो सम्मेलनमा माओवादी केन्द्रकि नेतृ एवं सम्पर्क समन्वय समिति इन्चार्ज यसोदा सुबेदी,  केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सासद माधव सापकोटा सुबोध, पुर्व मन्त्री एवं बागमती प्रदेशसभा सदस्य युवराज दुलाल शरद, लगायत नेताहरूले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा नेकपा (एमाले) का नेता नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकका पुर्व उपाध्यक्ष अर्जुन बहादुर महत, एकीकृत समाजबादी  चौतारा साँगाचोकगढी नगर कमिटी सदस्य तथा वडा नम्बर १० कमिटीका सचिव बुद्ध  बहादुर कार्की, नेपाली काङ्ग्रेस लिसङ्खु पाखर गाउँपालिका वडा नम्बर ५ का सचिव सुरज श्रेष्ठ,  एमालेका १० नम्बर वडा कमिटीका पुर्व सचिव विशाल लामा, राप्रपा नेपाल सिन्धुपाल्चोक जिल्ला युथका अध्यक्ष श्रीकृष्ण खड्का, नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य तथा ०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर १० का वडा सदस्य उम्मेदवार बिदुर कुमार केसी, एमालेका संगठित सदस्य सविन ठकुरी लगायत विभिन्न पालिकाबाट दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्