२०८३ आश्विन ३

भोटेकोशी बाढीमा बेपत्ता बसन्तको परिवारलाई सहयोगको खाँचो, डेढ वर्षकी छोरीसहित परिवार संकटमा

सिन्धुपाल्चोक | भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मेलम्ची नगरपालिका-८ काउरेनीका बसन्त गिरीको परिवारले आर्थिक सहयोगका लागि जनताको ढोका ढकढक्याएको छ।
रसुवा-तिब्बत रुटमा गाडी चालकका रूपमा कार्यरत गिरी गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका थिए । लामो खोजीका बाबजुद उनको अत्तोपत्तो नलागेपछि परिवारले भदौ ३१ गते हिन्दू परम्पराअनुसार कुशको शव बनाई अन्त्येष्टि गर्न बाध्य भयो ।
श्रीमानको भाग्यबारे केही थाहा नपाई अन्त्येष्टि गर्नुपरेकी पत्नी सबिना गिरी अहिले १५ महिनाकी छोरी र बिरामी सासू-ससुराको जिम्मेवारी एक्लै सम्हाल्नुपर्ने अवस्थामा पुगेकी छिन् । परिवारको एकमात्र आर्थिक धरोहर बसन्त नै थिए । सासू मुटुसम्बन्धी गम्भीर समस्याबाट पीडित रहेकी र भल्भ प्रत्यारोपणदेखि नियमित औषधोपचारसम्म ठूलो खर्च आवश्यक पर्ने बताइएको छ । यसैबीच परिवारमाथि करिब १८-१९ लाख रुपैयाँ बैंक ऋण पनि छ, जसको मासिक किस्ता र घरखर्च धान्नु अहिले सबिनाका लागि चुनौतीपूर्ण बनेको छ ।
“सानी छोरीलाई कसरी हुर्काउने, बिरामी सासू-ससुराको उपचार कसरी गर्ने, बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ । हामीलाई ठूलो रकमको अपेक्षा छैन, आफ्नो क्षमताअनुसार गरिएको सानो सहयोगले पनि हाम्रो परिवारलाई ठूलो राहत पुग्छ,” सबिनाले भावुक हुँदै बताइन् ।
यो परिवारका लागि यो पहिलो पीडा भने होइन । २०७२ सालको भूकम्पमा बसन्तले आफ्ना भाइ गुमाएका थिए भने एक दुर्घटनामा जेठी छोरी पनि गुमाउनुपरेको थियो । परिवारको जिम्मेवारी लामो समयदेखि बोकेर आएका बसन्त आफैं बेपत्ता भएपछि परिवार थप संकटमा फसेको छ ।
सहयोग गर्न इच्छुक व्यक्ति र संघसंस्थालाई सबिनाले आर्थिक सहयोगका साथै, सहयोग गर्न नसक्नेहरूलाई कम्तीमा यो अपिल सामाजिक सञ्जालमा शेयर गरेर सहयोगी मनसम्म पुर्‍याइदिन आग्रह गरेकी छन् ।
सहयोगका लागि विवरण:
बैंक: ग्लोबल आईएमई बैंक
खातावालाको नाम: सबिना गिरी
खाता नम्बर: 17407010100230
सम्पर्क: सबिना गिरी – ९८०८११४४२३ | थप जानकारी -९७६४६४१०५९

प्रतिक्रिया दिनुहोस्