चौतारा, सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित ४५ दिने सिलाई बुटिक तालिमको समापन समारोह सम्पन्न भएको छ। २०८१ फागुन १० देखि चैत २५ गतेसम्म सञ्चालन भएको तालिमको समापन समारोहका साथै सोही कार्यक्रममा ६५ दिने एडभान्स पार्लर तालिमको उद्घाटनसमेत गरिएको थियो।
समापन तथा उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सीपमूलक तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे। उनले तालिमबाट प्राप्त सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्दै स्वरोजगारमा रूपान्तरण गर्न सहभागीहरूलाई आग्रह गरेका थिए।
सिलाई बुटिक तालिम वडा महिला सञ्जालको आयोजना, चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा र वडा नं ५ को संयोजनमा सञ्चालन गरिएको थियो। यस तालिममा २० जना महिला प्रशिक्षार्थीहरू सहभागी भएका थिए। त्यसैगरी एडभान्स पार्लर तालिम २० जना प्रशिक्षार्थीहरूका साथ जिल्ला उद्यमी संघ सिन्धुपाल्चोकको आयोजना, नगरपालिकाको सहयोग र वडा नं ५ को समन्वयमा सञ्चालन हुने छ। सिलाई बुटिक तालिमका सहभागी गमली गुरूङले तालिमप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझ धेरै व्यावसायिक तालिमको अवसर जुटाइदिन आग्रह गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस्