२०८२ भाद्र १२

बाढीपहिरोले तातोपानी भन्सारलाई तीन अर्ब नाेक्सानी

रामकृष्ण थापा – गत असाेज १२ गतेकाे बाढीपहिरोले भाेटेकाेसी नदी लार्चास्थित बेलिब्रिज बगायाे । साेही दिन लिपिङखाेलाकाे पक्कीपुल पनि बगायाे । त्यस दिनदेखि बन्द तातोपानी नाका ह्युमपाइप राखेर २६ दिनपछि खुला भयाे अस्थायी रुपमा ।

लिपिङखाेलामा ६ माघदेखि बेलिब्रिज जडानकाे काम सुरु भयाे । २२ दिनपछि २८ माघबाट पुनः नाका सञ्चालनमा आएको छ । प्राकृतिक विपत्तिले सिर्जना गरेका अड्चनले याे आर्थिक वर्षमा हालसम्म दुई महिना जति आयात/ निर्यात ठप्प रहन गयाे

। तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्ले भन्छन्, प्राकृतिक विपत्तिबाट सिर्जित समस्याले राजस्व संकलनमा धेरै असर गरेकाे छ । दैनिक पाँच कराेडकाे सरदर हिसाबले पनि दुई महिनामा भन्सारले करिब तीन अर्ब राजस्व गुमाउनुपरेको छ, उनले भने । राजस्वमा रहेकाे सिधा घाटाको अलवा थुप्रै प्रकारका व्यापारिक नाेक्सानी व्यहोर्नुपरेकाे उनले प्रष्ट्याए ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत भन्छन् ,असाेजकाे बाढीपहिरो र पटकपटक नाका बन्द रहँदा दसैंतिहारका सामान समयमै नेपाल आइपुगेन । परिणामस्वरूप व्यापारीलाई ठूलाे नाेक्सान भयाे । फलफूल व्यापारीले कराेडाैं घाटा सहनुपर्याे ।

तातोपानी नाका व्यापारीकाे लाईफलाइन भएकोले जीर्ण काेदारी सडककाे स्तराेन्नतिमा राज्यले बेलैमा ध्यान दिनुपर्ने उनले बताए ।

बेलिब्रिज जडानपछि आयात नियमित

माघ ६ देखि आयात बन्द गरेर सडक डिभिजन कार्यालय चरिकाेटले लिपिङखाेलमा फाउन्डेसन तयार पार्याे । १५ दिनमा जग तयारी गरेपछि ६ दिनमा नेपाली सेनाले बेलिब्रिज जडान गर्याे । माघ २८ गते भाेटेकाेसी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा र नेपाली सेनाकाे २६ नम्बर बाहिनी प्रमुख सहायक रथी अशाेक गुरुङले संयुक्तरूपमा ४५ दशमलव ७२ मिटर लामाे बेलिब्रिज उद्घाटन गरेर साेही दिन सडक डिभिजनलाई हस्तान्तरण गर्याे ।

आइतबार साँझबाट साना सवारी आउजाउ गरेपछि साेमबार दिउँसोबाट खासामा रहेका व्यापारिक सामग्री धमाधम तातोपानी भन्सारमा आयात हुन थालेका छन् ।

सूचना अधिकृत काफ्लेले दिएको जानकारीअनुसार दैनिक १० कन्टेनर सामान आयात भएका छन् । चिनियाँ एक कन्टेनरमा २० फुटे नेपाली दुई कन्टेनर बराबर सामान हुन्छ ।

लिपिङखाेलामा बेलिब्रिज निर्माण भएर कन्टेनर वारपार गरेपनि सडक डिभिजनले रिटेनिङ वालकाे काम सुरु गरेकाे छैन । जग र बेलिब्रिजकाे दुवै साइडमा रिटेनिङ वाल निर्माण नहुँदासम्म पुल बलियाे हुँदैन ।

यता ह्युमपाइप राखेर सञ्चालनमा रहेकाे लार्चास्थित भाेटेकाेसी नदीमा बेलिब्रिज जडान गर्ने टुँगाे छैन । बर्खाअघि नै बेलिब्रिज जडान नगर्ने हाे भने आगामी बर्खाभर तातोपानी नाका बन्द रहने अवस्था आउने निश्चित छ ।

बेलिब्रिजबाहेक १० ठाउँ सडक पहिराेका कारण जाेखिमपूर्ण रहेका छन् । अरनिको र काेदारी सडकलाई बिनियाेजित बजेट पनि अर्थ मन्त्रालयले अन्यत्र लगेकाे समाचार सतहमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्