सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढि नगरपालिका -७, सानोसिरुवारीमा प्रदेश नं ३ स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्लाकै ठुलो धनराशिको पुरस्कार रकम सहितको प्रथम भदौरे गणेश कप, प्रदेश नं ३ स्तरीय पुरुष भलिबल प्रतियोगिता पुस २६ बाट सञ्चालन हुन लागेको हो । पर्यटन बर्ष २०२० लाई लक्ष्यित गरी पर्यटन प्रवर्द्धनका लागि खेलकुद भन्ने प्रमुख उद्येश्यका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रविन गौतमले बताए । सानोसरुवारीका साथै चौतारा साँगाचोकगढि नगरपालिका र सिन्धुपाल्चोक जिल्लाकै प्रमुख पर्यटकीय स्थलहरुको प्रचारप्रसार समेत गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगितामा प्रदेश नं ३ का १३ वटै जिल्लाका १/१ वटा जिल्लास्तरीय भलिबल टिमको सहभागितामा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी , मेडल र प्रमाणपत्रको साथै नगद २ लाख २ हजार २० रुपैया पुरस्कार पाउनेछन् । भ्रमण वर्ष २०२० को प्रवर्द्धन समेत गरिने उद्येश्य भएकोले पुरस्कार राशि समेत २०२०२० राखिएको आयोजक संस्थाका अध्यक्ष गौतमले बताए । ‘प्रतियोगितामा दोस्रो हुने टिमले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद १ लाख १ हजार १० रुपैया नगद पाउनेछन् । ‘अध्यक्ष गौतमले भने – ‘सिन्धुपाल्चोक जिल्लाकै ईतिहाँसमा यो खेल अहिलेसम्मकै ठुलो धनराशिको पुरस्कारको प्रतियोगिता भएको हामीले जानकारी पाएका छौँ । ‘प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई आयोजक संस्थाले खाना तथा आवासको समेत व्यवस्था गर्नेछ । १३ वटा जिल्ला सहभागी भई सञ्चालन हुन लागेको यो प्रतियोगिता जिल्लाकै पहिलो प्रतियोगिता समेत हो । प्रतियोगिताको समापन भने माघ १ गते गरिनेछ । सो दिन भदौरे गणेश मन्दिरमा भव्य मेला समेत लाग्ने भएकोले त्यसैको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्