२०८३ मंसिर ४

गौराती भीमेश्वर मेला व्यवस्थित र सुरक्षित बनाउन सर्वपक्षीय बैठक

चौतारा/ सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व गौराती भीमेश्वर मेला व्यवस्थित, सुरक्षित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने उद्देश्यले सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा आयोजित बैठकमा वडा नम्बर ५ र ६ का प्रतिनिधि, स्थानीय गुठी, विभिन्न संघसंस्था तथा गौराती भीमेश्वर युवा क्लबका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा मेला व्यवस्थापन, भक्तजनको सुरक्षा, यातायात तथा पार्किङ, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा, विद्युत् व्यवस्थापन र बजार अनुगमनलगायतका विषयमा छलफल गरी विभिन्न निर्णय गरिएको छ।

बैठकले मन्दिर परिसरभित्र मदिराको बिक्री वितरण तथा सेवन र जुवाजन्य गतिविधि नियन्त्रण गर्ने, सवारीसाधनका लागि व्यवस्थित पार्किङको व्यवस्था मिलाउने तथा भक्तजनलाई निःशुल्क स्वास्थ्य परीक्षण र खानेपानी उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, रथयात्रा तथा पूजाआजालाई सहज बनाउने, विद्युत् आपूर्ति भरपर्दो बनाउने, मेलामा सञ्चालन हुने स्टलहरूमा अनिवार्य मूल्यसूची राख्ने र यातायातको भाडादर सार्वजनिक गर्ने निर्णयसमेत भएको नगर उपप्रमुख सीता थापाले जानकारी दिनुभयो।

मेलाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी जडान तथा ड्रोनमार्फत निगरानी गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उपप्रमुख थापाले सरकारी निकाय, स्थानीय गुठी, संघसंस्था, व्यवसायी तथा स्थानीयवासीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्