२०८३ श्रावण ३

उसुमा सिन्धुपाल्चोकको दबदबा, ५ स्वर्णसहित टिम च्याम्पियन

रितिक परियार,काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौँडाको आयोजनामा सम्पन्न तेस्रो प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत काठमाडौंस्थित उसु कबर्डहलमा भएको उसु प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि जितेको छ ।
सिन्धुपाल्चोकले प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य पदकसहित कुल ८ पदक हासिल गर्दै समग्र उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो । विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गरेका जिल्लाका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै बागमती प्रदेशस्तरमा सिन्धुपाल्चोकको सशक्त उपस्थिति स्थापित गरेका छन्।
प्रतियोगितामा राजेश रायमाझी, सन्तोष सिग्देल, सोमबिर तामाङ, सुन्तली थामी र प्रनिसा तामाङले स्वर्ण पदक जितेका छन् । त्यसैगरी साजन गुरागाईं र बुद्ध तामाङले रजत पदक प्राप्त गरेका छन् भने कल्पना नेपालीले कास्य पदक जितेकी छन् ।
प्रशिक्षक धनकुमार तामाङको नेतृत्वमा सहभागी भएको सिन्धुपाल्चोक टोलीले अनुशासित, उत्कृष्ट र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि हासिल गरेको हो ।
जिल्ला खेलकुद विकास समिति, सिन्धुपाल्चोकले पदक विजेता खेलाडीहरू तथा प्रशिक्षक धनकुमार तामाङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तरप्रदेशस्तरीय प्रतियोगिताहरूमा समेत जिल्लाको गौरव अझ उच्च बनाउने विश्वास व्यक्त गरेको छ ।
सिन्धुपाल्चोकको यो उपलब्धिलाई जिल्लामा उसु खेलको बढ्दो विकास, खेलाडीहरूको निरन्तर मेहनत, समर्पण र प्रशिक्षकको कुशल नेतृत्वको प्रतिफलका रूपमा हेरिएको छ । प्रतियोगितामा प्राप्त यस सफलताले जिल्लाका अन्य खेलाडीहरूलाई समेत खेल क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्