२०८३ मंसिर ४

चिनियाँ नेतासँग सापकोटाको संवाद, तातोपानी नाका खुल्ने आशा

सिन्धुपाल्चोक –  तातोपानी नाका लामो समयदेखि बन्द हुँदा चीनसँगको व्यापार प्रभावित बनेको छ। तर अब भने नाका खुल्ने संकेत देखिएको छ। आगामी डिसेम्बरको पहिलो सातादेखि तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउने तयारी भएको बताइएको छ।

गत भदौमा भोटेकोशी नदीमा आएको बाढीपछि बन्द रहेको नाका सञ्चालनमा आए चीनबाट हुने सामानको आयात सहज हुने र व्यापारिक गतिविधि पुनः चलायमान बन्ने अपेक्षा गरिएको छ।

तातोपानी नाका बन्द हुँदा यसको प्रत्यक्ष असर सिन्धुपाल्चोकका व्यापारीमा मात्रै परेको छैन, देशभरकै बजार र उपभोक्ताले समेत महँगीको मार खेप्नुपरेको छ। चीनबाट आउने सामान भारतको समुद्री मार्ग हुँदै ल्याउनुपर्ने बाध्यताले ढुवानी खर्च बढाएको छ। जसका कारण दैनिक उपभोग्य वस्तुदेखि व्यापारिक सामग्रीसम्मको आपूर्ति प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।रसुवागढी नाका पनि बाढीका कारण बन्द हुनु र कोरोला नाकाबाट अपेक्षित रूपमा व्यापार हुन नसक्नुले चीनसँगको व्यापारिक मार्ग थप प्रभावित बनेको छ।

aaa-1795069544.png
यही अवस्थाबीच तातोपानी नाका खुलाउन राजनीतिक तथा कूटनीतिक तहमा पहल भएको बताइएको छ। पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँगको भेटमा नाका सञ्चालनको विषय उठाएको र त्यसपछि चिनियाँ पक्ष सकारात्मक बनेको स्रोतको दाबी छ।

चिनियाँ पक्षले नाका सञ्चालनअघि तिब्बतको सुरक्षा संवेदनशीलतासम्बन्धी आफ्नो चासो सम्बोधन हुनुपर्ने विषय पनि उठाएको बताइएको छ। यस विषयमा नेपाल सरकारसँग समन्वय र आवश्यक पहल गर्ने आश्वासनपछि नाका खोल्ने वातावरण बनेको स्रोतको भनाइ छ। यसअघि पनि भूकम्प, कोरोना महामारी तथा बाढीपछि बन्द भएको तातोपानी नाका खुलाउन सापकोटाले पहल गर्दै आएका थिए। पछिल्लो समय नाका सञ्चालनका विषयमा बागमती प्रदेशका मन्त्री, जनप्रतिनिधि, व्यवसायी तथा सीमापार वाणिज्य संघका प्रतिनिधिबीच समेत छलफल भएको थियो।

अब डिसेम्बरको पहिलो सातादेखि नाका सञ्चालनमा आउने खबरले सीमावर्ती क्षेत्रका व्यवसायीमा आशा जगाएको छ। तर लामो समयदेखि प्रभावित व्यापारलाई पुरानै अवस्थामा फर्काउन नाका खुल्नु मात्रै पर्याप्त हुने छैन। नियमित सञ्चालन, सहज आवागमन र दुवै देशबीचको विश्वासपूर्ण सहकार्य पनि उत्तिकै आवश्यक देखिन्छ। नाका खुल्ने खबरले आशा त जगाएको छ, तर निर्धारित समयमै नाका सञ्चालनमा आउँछ कि आउँदैन भन्ने विषय भने अझै प्रतीक्षाकै विषय बनेको छ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्