२०८३ आश्विन १९

रक्तदान अभियानलाई प्रभावकारी बनाउन कार्यान्वयन संयन्त्र बलियो बनाउनुपर्छ : मन्त्री पौडेल

काठमाडौं । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को २९औँ केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले रक्तदानको महत्व आफूले व्यक्तिगत रूपमा समेत गहिरोसँग बुझेको बताएका छन् ।
प्रमुख अतिथिका रूपमा साधारणसभामा सहभागी मन्त्री पौडेलले आफूले चार पटकसम्म गोली खाएर रगत बगाएको स्मरण गर्दै भने, “चार पटक गोली खाएर रगत बगाएको छु, त्यसैले मलाई रगतको महत्त्व राम्रोसँग थाहा छ ।” उनले रक्तदानलाई मानवीय सेवासँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले भौतिक पूर्वाधारमा बजेट खर्च गर्न तुलनात्मक रूपमा सहज भए पनि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विनियोजन गरिएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अझै चुनौती रहेको बताए ।


“भौतिक संरचनामा बजेट खर्च गर्न सजिलो छ। तर शिक्षा र स्वास्थ्यमा बजेट व्यवस्थापन गरे पनि त्यसलाई कार्यान्वयन गर्ने मेकानिजम कमजोर छ,” उनले भने ।
बागमती प्रदेशको बजेट कार्यान्वयनको अवस्थातर्फ संकेत गर्दै मन्त्री पौडेलले बजेटको आकारभन्दा त्यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुने बताए । उनका अनुसार भौतिक पूर्वाधारमा ठूलो रकम विनियोजन गर्दा तत्काल परिणाम देखिन सक्छ, तर स्वास्थ्यजस्ता क्षेत्रमा तुलनात्मक रूपमा कम बजेटले पनि नागरिकको जीवनमा ठूलो प्रभाव पार्न सक्छ । त्यसका लागि प्रभावकारी कार्यान्वयन संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।
साधारणसभामा ब्लोदानले रक्तदान अभियानको विस्तार, नियमित रक्तदाता निर्माण तथा रगतको सहज उपलब्धताका लागि संस्थाले गर्दै आएका गतिविधिबारे समेत छलफल गरेको थियो । रक्तदानलाई अभियानका रूपमा विस्तार गर्दै आवश्यक परेको समयमा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने वातावरण निर्माण गर्न संस्थागत सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।


यसै अवसरमा भिजन सिन्धु प्रा.लिका अध्यक्ष, जुगल खबरका प्रधान सम्पादक एवम् सिन्धु सन्देश साप्ताहिकका सम्पादक सुरेश कसजू सम्मानित भएका छन् । कसजू ब्लोदान सिन्धुपाल्चोकका अध्यक्षसमेत हुन् ।
रक्तदानको क्षेत्रमा सञ्चारमाध्यममार्फत निरन्तर योगदान पुर्‍याउँदै आएको तथा रक्तदान अभियानलाई प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै ब्लोदानले कसजूलाई सम्मान गरेको हो । साधारणसभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथि मन्त्री पौडेलले उनलाई सम्मानपत्र प्रदान गरेका थिए ।
साधारणसभाले ब्लोदानको आगामी कार्यदिशा, रक्तदान अभियानलाई थप व्यवस्थित बनाउने उपाय तथा स्वयंसेवी रक्तदाताको सहभागिता विस्तार गर्ने विषयमा समेत जोड दिएको थियो । देशभर रक्तदानको पहुँच विस्तार गर्न विभिन्न तहका संस्था, स्थानीय समुदाय र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेकोमा समेत सहभागीहरूले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्