२०८१ श्रावण १२
                           

पोखरेलको पीडा र रामेशको रोष

भरत पोखरेल – भारतमा एकवर्षमा जति सिनेमा बन्छन् नेपालमा एकवर्षमा त्यति नै पुस्तक प्रकाशित हुन्छन् अर्थात् एकहजार जति । यो वर्ष वैशाख र जेठमा दुईवटा पुस्तक बजारमा आएको सामाजिक सञ्जालबाट थाहा लाग्यो । पहिलो कृष्ण पोखरेलको जेठमा प्रकाशित फर्केर हेर्दा र वैशाख लेखिए पनि अस्तिमात्र बजारमा आएको रामेश श्रेष्ठको जीवनसङ्घर्षका ज्वारभाटाहरू मैले पढें ।

दुबै अविरल वामपन्थी आन्दोलनका परिचित नामहरू हुन् । कृष्ण पोखरेलको पूर्व योजना बिनाको जिन्दगी पेशाले प्राध्यापक र रामेश मुख्यरूपमा संगीतकार । कृष्ण पोखरेलको पुस्तकमा पूर्वीतराईको चर्चा बढी छ भने रामेश श्रेष्ठको पुस्तकमा पूर्वीपहाडको यद्यपि रामेशको लेखन क्षेत्र पोखरा-पाल्पासम्म पनि पुगेको छ । कृष्ण पोखरेलको वैचारिक आस्था पूर्वकोसी पार्टी, माक्र्सवादी कम्युनिस्ट पार्टीदेखि एमालेसम्म आएर हाल स्वतन्त्र रहेको देखिन्छ भने रामेशको राल्फा आन्दोलनदेखि मालेसम्मको यात्रापछि स्वतन्त्र देखिन्छ । पचहत्तर काटेका दुबै सरल र सालीन व्यक्तित्व हुन् ।

कृष्ण पोखरेलको पुस्तक फर्केर हेर्दा वहाँको जन्मस्थान हरिनगराबाट सुरु भएको देखिन्छ, पुख्र्यौलीथलो ओखढुंगाको माम्खा उल्लेख छ । पुस्तकमा विराटनगर विस्तारित रूपमा चर्चा भएको छ । वहाँले पढेको विद्यालय, महाविद्यालय विराटनगर नै रहेकाले यो स्वभाविक नै हो । विराटनगरपछि झापा भद्रपुरको मेची क्याम्पस वहाँले पढाउँदाको लामै चर्चा छ । भद्रपुरबाट सरुवा भएर विराटनगर आएपछि वहाँको विराटनगर र काठमाडौँको म्याराथुन सरुवा दौड पनि पुस्तकमा उल्लेख छ । वहाँले नियुक्ति पाउनु भएका पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र लोकसेवा आयोगको सदस्यको चर्चा पुस्तकमा विस्तारमा गरिएको छ ।

पुस्तकमा वहाँले विर्सनै नसकिएने केही व्यक्तिहरूको वणर्न पनि गर्नुभएको छ । एक दर्जन व्यक्तिमा दुईजना छुटाउनु भएको मलाई खटकेको छ । पहिलो सीपी मैनाली जो वहाँका विद्यार्थी अनि पार्टी नेता पनि हुन् । दोस्रो केपी ओली । इतिहास नायकहरूको मात्र होइन खलनायकहरूको पनि हो । दोस्रो विश्वयुद्धका नायक स्तालीन थिए भने खलनायक हिटलरको पनि इतिहास छ ।

भारतमा गान्धीसँगै गोड्सेको पनि नकारात्मक इतिहास छ । सामाजिक सञ्जालमा ओली विरुद्ध बमबार्डिङ गरिरहने कृष्ण पोखरेलले यो पाटो पुस्तकमा छुटाउनु भएको छ । पुस्तकमा कृष्ण पोखरेलले २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन र २०६२-६३ को आन्दोलनको प्रत्यक्षदर्शी र राजनीतिशास्त्रीका नाताले सैद्धान्तिक विश्लेषण राखि दिनुभएको भए पुस्तकमा भनेजस्तै एक पाइला पछि दुई पाइला अघि हुने थियो ।

रामेश श्रेष्ठको जीवनसङ्घर्षका ज्वारभाटाहरू पुस्तकमा वहाँका दुईदर्जन लेखहरू समेटिएका छन् । पुस्तकका लेखहरूको समयकाल २०४९-८० अर्थात् ३१ वर्ष रहेको देखिन्छ । वैचारिक प्रतिवद्धता बेगर राल्फादेखि मालेमा पार्टी प्रतिबद्धता पाइन्छ । रामेशको सबैभन्दा लामो लेख कसरी बन्यो चलचित्र बलिदान पछि अर्को लामो लेख मैले किन पार्टी छोडेँ – किनमा वहाँले अवसरवादी कमरेडसँगको सम्बादमा बहस गर्नु भएको छ । रामेशको पुस्तकमा जनबोलीहरू टपक्क टिपेर राखेको पुस्तकको सौन्दर्यशास्त्र हो ।

अहिलेसम्म अविरल वामआन्दोलनमा सक्रिय रामेशले कुनै पनि सरकारी नियुक्ति खानु भएन अर्थात् पाउनु भएन यो बहसको विषय हुन सक्छ । माइक्रो बसको मामादेखि फुपाजुको भविष्यवाणीमा वहाँले नेपाली राजनीतिको राम्रो चित्रण गर्नु भएको छ ।

पुस्तकमा रायन, मञ्जुलसँगको अन्तर्विरोधका कुरा त छन् तर कारण उल्लेख छैन । पुस्तकले अहिले जनवादी गीतहरूको बजार किन छैन त्यसबारे लेखक अनभिज्ञ देखिनु हुन्छ । नेपालका वामपन्थी विचार राख्ने व्यक्तिहरूका लागि कृष्ण पोखरेल र रामेश श्रेष्ठका पुस्तकहरू पठनीय छन् ।

प्रतिक्रिया दिनुहोस्