२०८३ असार ३०

चौताराको इतिहास, संस्कृति र पहिचान समेटिएको ‘चौतारा’ पुस्तक विमोचन

चौतारा | २१३ औँ भानु जयन्तीको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका-५ को ‘चौतारा’ पुस्तकको एक विशेष समारोहका बीच विमोचन गरिएको छ । चौताराको इतिहास, संस्कृति, सभ्यता र पहिचानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले प्रकाशित पुस्तकको विमोचन कार्यक्रममा जनप्रतिनिधि, साहित्यकार, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले कुनै पनि समाजको पहिचान उसका इतिहास, संस्कृति र सभ्यतामा निहित रहने उल्लेख गर्दै ‘चौतारा’ पुस्तकले स्थानीय इतिहासलाई पुस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम बनेको बताए । स्थानीय ज्ञान, संस्कृति र मौलिकतालाई संरक्षण गर्दै भावी पुस्तासम्म पुर्‍याउने कार्यमा यस्ता कृतिको विशेष महत्व रहने उनको भनाइ थियो ।
उपप्रमुख सीता थापाले इतिहासलाई केवल स्मृतिमा सीमित नराखी लिखित अभिलेखका रूपमा सुरक्षित गर्नु समयको आवश्यकता रहेको बताइन् । उनले पुस्तकले चौताराको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गर्दै स्थानीय तहले यस्ता सिर्जनात्मक र अनुसन्धानमूलक कार्यलाई निरन्तर प्रोत्साहन गर्ने धारणा राखिन् ।


वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले पुस्तक प्रकाशन केवल एउटा साहित्यिक उपलब्धि नभई चौताराको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई संरक्षण गर्ने अभियान भएको बताए । स्थानीय बस्ती, संस्कृति, परम्परा र इतिहासलाई खोजी गरी एकै ठाउँमा समेट्ने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस कार्यमा योगदान गर्ने सबैप्रति उनले आभार व्यक्त गरे ।
पुस्तकको समीक्षा गर्दै भाषा सम्पादक दम्बर रसिक भारतीले ‘चौतारा’ पुस्तक इतिहास, संस्कृति, सभ्यता र स्थानीय जीवनको समग्र दस्तावेजका रूपमा तयार भएको बताए । उनले पुस्तकमा समेटिएका विषयवस्तुहरू अनुसन्धान, तथ्य र स्थानीय स्रोतका आधारमा व्यवस्थित रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै यसले अध्ययन, अनुसन्धान तथा आगामी पुस्ताका लागि भरपर्दो सन्दर्भ सामग्रीको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
समारोहका बीच पुस्तकको विषयवस्तुको खोजी, तथ्य सङ्कलन, अभिलेखीकरण तथा सम्पादन प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउने लेखक, सम्पादक तथा सहयोगी व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले स्थानीय इतिहास र पहिचानको संरक्षणका लागि यस्ता दस्तावेजी कृतिहरू आवश्यक रहेकोमा जोड दिएका थिए । ‘चौतारा’ पुस्तकले नगरको ऐतिहासिक विरासत, सांस्कृतिक सम्पदा र सामाजिक जीवनलाई एकीकृत रूपमा अभिलेखीकरण गर्दै भावी पुस्ताका लागि महत्वपूर्ण दस्तावेजका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्