चौतारा । नगर खेलकुद विकास समिति, चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा दोस्रो नगर कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०८३ सम्पन्न भएको छ । बनदेवी सामुदायिक ब्याडमिन्टन कभर्ड हल, चौतारामा सञ्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तह तथा क्लबका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । जिल्ला ब्याडमिन्टन संघ सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगितामा पुरुष डबल्स र भेट्रान्स (४०+) विधामा प्रतिस्पर्धा भएको थियो । खेलाडीहरूबीच भएको प्रतिस्पर्धात्मक खेलले दर्शकको समेत राम्रो साथ पाएको आयोजकले जनाएको छ ।

भेट्रान्स (४०+) विधातर्फ सुनकोशीका केशव न्यौपाने र केवल न्यौपानेको जोडीले उपाधि जित्यो भने मेलम्चीका राजनमान श्रेष्ठ र नारायणलाल श्रेष्ठको जोडी उपविजेता बन्यो । खाडीचौरका विदुर खड्का र दिल तामाङ तथा कर्मचारी मिलन केन्द्रका सुजन राना र कुमार सापकोटाको जोडी संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।

पुरुष डबल्सतर्फ खाडीचौरका अजय तामाङ र विकेश पराजुलीको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो । त्यसैगरी मेलम्चीका अनिश गुरुङ र रुद्रशरण श्रेष्ठको जोडी दोस्रो स्थानमा रहँदा चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठ तथा पूर्ण थापा र नवराज सापकोटाको जोडी संयुक्त रूपमा तेस्रो भए ।
प्रतियोगिताका विजेता टोलीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरुष डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ३० हजार, २० हजार तथा १०-१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी भेट्रान्स (४०+) विधाका विजेतालाई २० हजार, उपविजेतालाई १० हजार तथा तेस्रो हुने दुवै टोलीलाई ५-५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
समापन समारोहका अवसरमा हालै सम्पन्न प्रदेश खेलकुद प्रतियोगितामा पदक जितेर सिन्धुपाल्चोकको गौरव बढाउने खेलाडीहरूलाई सम्मान गरिएको थियो । साथै, उनीहरूको योगदानको कदर गर्दै सर्वपक्ष दैनिक पत्रिकाको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । सम्मान ग्रहण गरेका खेलाडीहरूलाई आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला र देशको नाम उच्च राख्न शुभकामना व्यक्त गरिएको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरूले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्