स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा उपलब्ध हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्कलोड र जनशक्तिअनुसार ओपिडी सेवा उपलब्ध गराउन अस्पतालहरूलाई निर्देशन दिएको हो ।
सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ । सो समयमा स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर सरकारले आइतबार पनि ओपिडी सेवा उपलब्ध गराउन भनेको हो । आइतबार काम गर्ने कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को कुनै एक दिन बिदा दिने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।
‘अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने । याे व्यवस्था लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्ने,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
प्रादेशिक अस्पतालहरूमा समेत यो व्यवस्था मिलाउन संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालयलाई अनुरोध गरेको छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्