२०८२ चैत्र ३०

संसदमा एमसीसी

फागुन २१, २०८२ को निर्वाचनपछि सरकार गठन अनि पहिलोपल्ट बसेको संसदको पहिलो दिन चैत्र १९, २०८२ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि छामिछाने, नेपाली काँगे्रसका भीष्मराज आङदम्बे, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टीका हर्कराज राई (हर्क साम्पाङ), राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले पार्टीको संसदीय आयतन अनुसारको पाएको समयमा आआफ्ना धारणा राखेका थिए । पहिलाको संसदभन्दा फेरिएको संसदीय समीकरणमा करिब दुईतिहाई नजिक रास्वपाको सरकार भए पनि नेपाली जनताको चासोका विषयमा सानो पार्टीले जनचासोका कुरा संसदमा उठान गर्ने सांसदहरूलाई जनताले विशेष रूपमा हेरिरहेका हुन्छन् । विगतको संसदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले फरक धारको विचार प्रभाह गर्थे जुन जनसरोकारको विषय हुन्थ्यो । यसपाला पहिलो दिन नै श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले चाँदीको घेरा देखाउने जमर्को गरेका छन् । साम्पाङले नेपालमा एमसीसी खारेजीको अभिव्यक्ति दिएर साहस देखाएकोमा उनलाई धन्यावाद दिनै पर्छ ।
जोए स्टुडवेलले सन २०१३ मा एउटा पुस्तक लेखेका छन हाउ एसिया वर्क्स । यो पुस्तक सामान्य रूपमा सबै अर्थशास्त्रीका लागि र विशेष रूपमा विकास अर्थशास्त्रीका लागि खुब मन पराइएको पुस्तक हो र विश्व पुस्तक बजारमा बेस्ट सेलरको रूपमा कायम रह्यो । एक समय विश्वका सबैभन्दा धनाड्य बिल गेट्सले यो पुस्तक पढेपछि यति प्रभावित भए कि लेखकलाई भेटेर अफ्रिकाको विषयमा पनि यस्तै पुस्तक लेखि दिन अनुरोध मात्र गरेनन् त्यो प्रोजेक्टका लागि सबै खर्च गेट्स–मिलिन्डा फाउन्डेसनले व्योहर्ने प्रस्ताव समेत राखे । पहिला त लेखकले आफ्नो अनुसन्धान क्षेत्र एसिया रहेकाले हाउ एसिया वर्क्स पुस्तक लेखेको अफ्रिकाबारे आफू धेरै जानकार नरहेको जानकारी दिएपछि गेट्स र लेखकका पाठकहरूको अनुरोधमा अफ्रिकाबारे २०१८ मा अनुसन्धान थालेपछि परिणाम स्वरूप हालै फेब्रुअरी २०२६ मा लेखक जोए स्टुडवेलको नयाँ पुस्तक हाउ अफ्रिका वर्क्स बजारमा आएको छ । यो पुस्तकमा ५५ अफ्रिकी राष्ट्रमध्ये चार बोत्सवाना, मोरिसस, इथियोपिया र रवान्डा लेखकका चयनमा परेका राष्ट्रहरू छन् । म यहाँ हाउ अफ्रिका वर्क्स पुस्तकको उत्तरार्धतिरको एउटा प्रसङ्ग युएसएड र एमसीसीबारे केही कुरामात्र राख्न चाहन्छु । डोनाल्ड ट्रम्प दोस्रोपल्ट सन २०२४ राष्ट्रपतिमा निर्वाचित भएपछि फेब्रुअरी २०२५मा उनले युएसएडको ९० प्रतिशत बजेट कटौती गरे, युएसएडको विश्वमा संचालित ६,२०० कार्यक्रममध्ये ५,२०० बन्द गराए परिणाम मार्च २०२५ देखि विश्वका गरिब देशहरूमा प्रतिघन्टा १०३ बालबालिकाको मृत्यु दर बढेको बोस्टन विश्वविद्यालयको एउटा प्रतिवेदनले देखाएको छ । युएसएड डेमोक्रेट्सले चलाएकाले रिपब्लिकन ट्रम्पले राजनीति गरेको आरोप छ ।
रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यु बुशले सन २००४ मा सुरु गरेको एमसीसीलाई ट्रम्पले निरन्तरता दिने भनेको पुस्तकमा लेखिएको छ । एमसीसीबारे नेपालमा सदनदेखि सडकसम्म धेरै बहस भएका छन् । अहिलेको संसदमा श्रम संस्कृति पार्टीबाहेक सबै पार्टी एमसीसीका मतियार देखिन्छन् । एमसीसी व्याख्यात्मक टिप्पणी गर्ने अवसरवादीहरूसम्मको संसदमा उपस्थिति छ । बहुमत पाएर सरकार बनाउने रास्वपाका कतिपय मन्त्री समेतभएका नेताहरू एमसीसीको तावेदारीमा पहिला नै उदाङ्ग भइसकेका छन् । हर्क साम्पाङले संसद संचालनको पहिलो दिन नै एमसीसीको खारेजीको कुरा उठाएर नेपाली जनताको बोली बोलेका छन् । साम्पाङले संसदको सम्बोधनमा सबै कुरा सही नै बोलेका छन् भनेर ठोकुवा चाहिँ गर्न सकिदैन । उनले प्रत्यक्ष कार्यकारीको कुरा पनि उठाएका छन् यस विषयमा मेरो पूर्ण विमति रहन्छ र यसबारे पछि म आफ्ना आलेखमा लेख्ने छु । प्रत्यक्ष कार्यकारी विश्वमा असफल हुँदै गएको प्रणाली हो, एउटा उदाहरण अमेरिका देखाइन्थ्यो त्यो पनि अहिले विश्वले देखिभोगिरहेको छ । अमेरिका इरान युद्धमा छ, अमेरिकी जनता युद्धको विरोधमा छन् । हर्कले संसदमा एमसीसीको खारेजीको आवाज उठाएर सुखद सुरुवात गरेका छन् सरकारको यसबारे चाँडै अवधारणा आउने हामीले अपेक्षा गरेका छौं । अब सरकारको पाइनको परीक्षा सुरु हुनेवाला छ ।

प्रतिक्रिया दिनुहोस्