नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाभित्र आफ्नो संसदीय संरचना सुदृढ बनाउने क्रममा महत्वपूर्ण निर्णय गरेको छ । पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले सांसद युवराज दुलाल लाई दलको प्रमुख सचेतकको रूपमा नियुक्त गरेका हुन् ।
बुधबार जारी गरिएको औपचारिक पत्रमार्फत गरिएको यस निर्णयबारे संघीय संसद सचिवालयलाई जानकारी गराइएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयलाई सम्बोधन गरिएको पत्रमा दुलाललाई प्रतिनिधिसभामा नेकपाको तर्फबाट प्रमुख सचेतकका रूपमा संसदीय गतिविधिमा प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरिएको उल्लेख छ ।
पत्रअनुसार, दुलाललाई पार्टीले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक पदमा नियुक्त गरिसकेको जानकारी दिँदै सोहीअनुसार आवश्यक प्रशासनिक तथा संसदीय प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ । यससँगै, उनलाई संसदीय कार्यमा पार्टीको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्ने, सांसदहरूबीच समन्वय कायम गर्ने तथा पार्टीको निर्णय कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने जिम्मेवारी दिइएको छ ।
उक्त पत्रमा दुलालप्रति विश्वास व्यक्त गर्दै उनले प्रमुख सचेतकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने र दल तथा संसदीय कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको पनि उल्लेख गरिएको छ । पार्टी नेतृत्वले उनलाई सक्षम र जिम्मेवार भूमिकामा देख्ने विश्वास राखेको सन्देश पत्रमार्फत प्रस्ट देखिन्छ ।
यस नियुक्तिसँगै नेकपाले प्रतिनिधिसभाभित्र आफ्नो उपस्थिति थप प्रभावकारी बनाउने तथा संसदीय गतिविधिलाई व्यवस्थित ढंगले अगाडि बढाउने संकेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्