चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा नगर बाल भेला सम्पन्न भएसँगै नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ । नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भेलाबाट बुद्ध थापा नगर बाल सञ्जालको अध्यक्षमा चयन भएका छन् ।
पुनर्गठित सञ्जालको उपाध्यक्षमा मनिका कार्की, सचिवमा प्रतिक खत्री, कोषाध्यक्षमा दिपिसा थापा तथा सह–सचिवमा अस्मिता श्रेष्ठ चयन भएका छन् । साथै भेलाले १२ जना सदस्यहरू समेत चयन गरेको छ ।

भेलामा बाल अधिकारको संरक्षण, बाल सहभागिता अभिवृद्धि, नेतृत्व विकास तथा बालमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो । सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको १२ नम्बर वडा स्तरीय बाल सञ्जाललाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख सीता थापाले नव निर्वाचित नगर बाल सञ्जाललाई बधाई दिँदै बालबालिका आजका मात्र नभई भोलिका पनि कर्णधार भएको उल्लेख गरिन् । उनले बाल अधिकारको संरक्षण, बालमैत्री नगर निर्माण र समावेशी वातावरण सिर्जनामा बाल सञ्जालको भूमिका महत्वपूर्ण हुने बताइन् ।
भेलाको अवसरमा नगर बाल सञ्जालका पूर्व अध्यक्ष सुजन श्रेष्ठलगायत निवर्तमान कार्यसमितिलाई सम्मानसहित विदाई गरिएको थियो । उनीहरूले आफ्नो कार्यकालमा गरेको योगदानको प्रशंसा गर्दै नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा विद्यालयका शिक्षक, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नव निर्वाचित अध्यक्ष बुद्ध थापाले नगर बाल सञ्जाललाई बालबालिकाको आवाज बुलन्द गर्ने प्रभावकारी मञ्चका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्