२०८० चैत्र १६

‘झिल्के खुवली’ बजारमा, खान्दोके सेलो प्रबर्द्धन गर्दै आस्मान (भीडियोसहित)

चौतारा- गायक आस्मान लोप्चनले खान्दोके सेलो प्रेमीहरुको लागि ‘झिल्के खुवाली’ बोलको गीत बजारमा ल्याएका छन् ।

बल्ल पो तामाङको हुल उठ्यो भाग– ३ अन्तरर्गतको यो गीत र म्युजिक भीडियो क्लिक नेपालबाट आजै (माघ १६) दिउँसो सार्वजनीक गरिएको छ । सिन्धुपाल्चोकको प्रचलित मौलिक भाका मानिने खान्दोके सेलोलाई प्रबर्द्धन गर्ने उद्देश्यले गीत ल्याईएको गायक लोप्चनले बताए । यसको गायनमा लोप्चनलाई गायिका रोश्ना लुङ्वाले साथ दिएकी छिन् ।

गायक लोप्चनकै शब्द तथा लय सङ्कलन रहेको यस गीतको संगीत संयोजन सुन्दर लामा योञ्जनले गरेका छन् । गीतको रेकर्डिङ भने त्रिताल रेकर्डिङ स्टुडियोमा गरिएको छ । गीतको भीडियोलाई बुद्ध लामा तितुङले निर्देशन गरेका छन् । भीडियोको छायाङ्कन सम्पादन सूर्य लामाले गरेका हुन् ।

गीतको छायङ्कन सिन्धुपाल्चोक भित्रै गरिएको निर्माण पक्षले जनाएको छ । ‘सिन्धुपाल्चोकको पहिचान बोकेको गीत भएकोले चौताराको गुम्बाडाँडामा यसको छायाङ्कन गरिएको हो’, निर्देशक तितुङले भने । भीडियोमा आस्मान लोप्चन, पुसन लामा, कर्मा दोङ र अनुष्का दोङलाई देख्न सकिनेछ । गीत तथा भीडियो निर्माणमा कला तथा संगीतप्रेमी हिम्ले तामाङले सहयोग गरेका हुन् ।

गायक लोप्चनले यस अघि दुईवटा खान्दोके सेलो बजारमा ल्याई सकेका छन् । ‘बल्ल पो तामाङको हुल उठ्यो’, ‘वाला वाला रिवन’, क्लिक नेपालले बजारमा ल्याईसकेको छ । ‘पहिलो गीत नेपाली भाषामा एकल गाएको थिएँ, दोस्रोमा तामाङ भाषामा केटाकेटीको जुहारी थियो’, गायक लोप्चनले भने– ‘यो तेस्रो गीत चाँही नेपाली भाषामा केटाकेटी बीच हुने जुहारीको रुपमा ल्याएको छु ।’उनले खान्दोके सेलोको अलवा लोक पप, लोक होहोरी, आधुनिक सेलो विधाका ९ वटा गीत बजारमा ल्याईसकेका छन् ।

हेर्नुस् भीडियोः

प्रतिक्रिया दिनुहोस्