सिन्धुपाल्चोक, चौतारा — चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सुख्खा क्षेत्र घोषणा सम्बन्धी सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुख्खा क्षेत्रको पहिचान, यसको समस्या, समाधानका उपाय तथा नगरपालिकाको पहलका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्दै वडा नं १३ र १४ लाई सुख्खा क्षेत्र घोषण गर्ने निर्णय २०८१ साल पोैष २८ गतेको नगर सभाले गरेको जानकारी गराइएको थियो।
आर्थिक वर्ष २०७३/०७४ मा तत्काल समयको साँगाचोक गाविस हालको वडा नं १०, ११ र १२ लाई सुख्खा क्षेत्र घोषण गरिएको थियो भने त्यसैमा वडा नं १३ र १४ लाई पनि समावेश गरि कुल ५ वटा वडामा सिचाइ र खानेपानीको विशेष कार्यक्रम सञ्चालन गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले प्रस्तुतीकरणको क्रममा बताएका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको विवरण अनुसार नेपालमा सुख्खा क्षेत्रहरूमा जल स्रोतको अभाव, वर्षाको कमी, पानीको मुहान सुक्दै जानु, तथा पानीको संरक्षण तथा भण्डारण संरचनाको अभावले जनजीवन र कृषि प्रणालीमा गम्भीर असर पारिरहेको छ।
कार्यक्रममा आफ्नो कुरा राख्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले भने यस विषयमा सर्वपक्षीय सहमति र साझेदारी गरि सबैको ज्ञान, सिप र शक्तिको प्रयोग गरि एकताबद्ध हिसाबले अघि बढ्नुपर्ने कुरा बताए।
कार्यक्रममा उपस्थित राजनीतिक दलहरूको तर्फबाट पनि सुख्खा क्षेत्र व्यवस्थापनका विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो। राजनीतिक दलका प्रतिनिधिहरूले “राजनीति भन्दा माथि उठेर एकतावद्ध भएर यस विषयमा अघि बढ्न आवश्यक रहेको र यस किसिमको विषयले जनता संग प्रत्यक्ष सरोकार राख्ने भएकाले सबै पक्षबाट सहजीकरण तथा सहयोग गर्न तयार रहेको कुरा बताए।”
नगरपालिकाले सुख्खा क्षेत्र व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकारबाट स्रोत सुनिश्चितता, बजेट व्यवस्थापन, विकास साझेदारहरूसँग समन्वय, र कानुनी तथा संस्थागत संरचना निर्माण गर्न पहल गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्