जीवन श्रेष्ठ, सिन्धुपाल्चोक | रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका सिन्धुपाल्चोकका ५० जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ । सम्पर्कविहीनका परिवार तथा आफन्तले आफ्ना प्रियजनको खोजी तथा उद्धारका लागि सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका-५, चौताराका राजकुमार श्रेष्ठ मंगलबार काठमाडौंँबाट रसुवाको प्रभावित क्षेत्र टिमुरेतर्फ गएको र त्यसपछि परिवारको सम्पर्कमा नआएको उनका बुबा खड्कबहादुर श्रेष्ठले बताएका छन् । उनले छोराको अवस्था पत्ता लगाई तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
सिन्धुपाल्चोकबाट व्यापार व्यवसाय, रोजगारी, नोकरी, धार्मिक यात्रा तथा सवारी चालकका रूपमा काम गर्न लामो समयदेखि रसुवाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरू बाढीबाट प्रभावित भएका हुन् । तातोपानी नाका लामो समयदेखि विभिन्न कारणले प्रभावित भएपछि त्यहाँ कार्यरत धेरै व्यक्ति केरुङ नाकातर्फ स्थानान्तरण भएका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार सिन्धुपाल्चोकबाट करिब ४ सय जना केरुङ नाका आसपासमा कार्यरत छन् । तीमध्ये अधिकांश कन्टेनर चालक रहेका छन् । बाढीपछि ५० जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको विवरण आफूसम्म आएको उनले बताए ।
परिवारजन तथा आफन्तले सार्वजनिक गरेको विवरणअनुसार चौतारा साँगाचोकगढी-१ का जीवन जोन्छे, बलेफी गाउँपालिकाका कुमार खड्का, विशाल छडियाल, अच्युत भण्डारी, विशाल नेपाली, राजु श्रेष्ठ, सन्तोष तामाङ, लामोसाँधुका निकोश श्रेष्ठ, रेशम श्रेष्ठ, राजन तामाङ, हेलम्बुका सुमित तामाङ, सुनकोसीका रामशरण तिमल्सिना र प्रदीप कार्की लगायत सम्पर्कविहीन छन् ।
त्यस्तै भोटेकोसीका पासाङ ग्याल्बो, दिलबहादुर लामिघाते, साङ्बु शेर्पा, मेलम्चीका राजकुमार श्रेष्ठ, बाह्रबिसेका सुविन्द्र खड्का, मेलम्ची-४ का नवराज रावत, हेलम्बुका विष्णु खतिवडा तथा बाह्रबिसे क्षेत्रका युबराज, पदम कार्की, रेशम थापा र श्रीकृष्ण श्रेष्ठ पनि सम्पर्कमा नरहेको परिवारजनले बताएका छन् ।
बाह्रबिसे-७ का तिलक प्रधान, खेलबहादुर थापा, चित्रबहादुर देउजा, राजु थापा, रामबहादुर प्रधान, मिथुन थापा र शिव देउजा तथा चौतारा साँगाचोकगढी-१२ का सन्तोष खत्री, प्रल्हाद गिरी, दीपेन्द्र गिरी, जीवन पुरी र राजकुमार पराजुली पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।
यसैगरी भोटेकोसी चाकुका राजन श्रेष्ठ, भोटेकोसी-१ का फ्युर ग्याल्बो शेर्पा, त्रिपुरासुन्दरी-१ का देवेन्द्र खड्कासहित सिन्धुपाल्चोक घर भई प्रभावित क्षेत्रमा कार्यरत मनिश खड्का, प्रकाश कार्की, सुकुश खड्का, अच्युत सापकोटा, ग्याल्बु शेर्पा, सुविन श्रेष्ठ, प्रकाश कायस्थ, पदम कार्की र निमदोर्जे पाख्रिन पनि सम्पर्कविहीन रहेको बताइएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्लाबाट रसुवाको प्रभावित क्षेत्रमा गएर बसोबास तथा काम गर्दै आएका व्यक्तिहरूको तथ्यांक संकलन भइरहेको जानकारी दिए । उनका अनुसार सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि रसुवाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको छ ।
प्रशासनले प्रभावित क्षेत्रमा रहेका सिन्धुपाल्चोकवासीको यकिन विवरण संकलन गरी खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ । बाढीपछि आफन्तसँग सम्पर्क टुटेका दर्जनौँ परिवार आफ्ना प्रियजन सकुशल भेटिने आशामा छन् ।
प्रतिक्रिया दिनुहोस्