विदुर आचार्य – सिन्धुपाल्चोक सदरमुकाम चौतारामा बृहत योग शिविर हुने भएको छ । पतञ्जली योग साधना केन्द्र चौताराको बार्षिकउत्सवको अवसरमा चैत १९–२१ मा चौतारामा शिविर हुने समितिले जानकारि दिएको छ ।
जिल्लाको प्रसिद्धस्थल आमा याङ्ग्रीमा गत मंगलबार योग अभ्यास गरियो । मेलम्ची नगर योग समितिको आयोजनामा जिल्लाका साधकहरुले तीन हजार आठ सय मिटरको अग्लो स्थानमा साधना गरि योग साधनाको नवीन रुप प्रदान गरेका छन् ।
धार्मिक र पर्यटकले भरिने ठाउँमा योग साधकहरुले भरिदा आमा याङ्ग्रीको रौरनकता अलि फरक रह्यो । धार्मिक एवम पर्यटकीय रूपमा प्रसिद्ध आमा याङ्ग्रीमा भएको साधना र पदयात्राले स्वास्थ्य पर्यटनको प्रवद्र्धनको सुरुवात भएको छ ।
धार्मिक, मनोरञ्जन सँगै स्वास्थ्यको लागि समेत पर्यटनको संभावनालाई उजागर भएको हो । जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका साधकहरुले आमा याङ्ग्रीको शीरमा योग तथा ध्यान गरेका हुन् ।
एक पटक पुग्नै पर्ने ठाउँ पवित्र तीर्थस्थलमा पदयात्रा सहितको योग अभ्यासले योग तथा ध्यानको प्रवद्र्धनमा सहयोग पुगेको महिला पतञ्जली जिल्ला समिति सिन्धुपाल्चोककी अध्यक्ष कविता राउत बताउनुहुन्छ ।
पर्यटन प्रर्वधनसँगै स्वस्थ जीवनको लागि योगको महत्वको प्रचार गर्न पदयात्रा सफल भएको उक्त कार्यक्रममा सहभागी मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको बुझाई छ ।
पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा योग तथा ध्यान गर्नेको संङ्ख्या उल्लेख्य बृद्धि भएको छ । जिल्ला सदरमुकाम चौतारामा प्रशिक्षण सहित सुरुवात भएको दोस्रो वर्षमा लगभग एक सय बढी सहभागी भएका छन् ।
चौतारा साधना केन्द्रका प्रशिक्षक किरणमान श्रेष्ठका अनुसार प्रशिक्षणमा सहभागी हुनेको लहर नै लागेको छ । साधना केन्द्रमा दर्जनबढी योग प्रशिक्षक तयार भैसकेका छन् भने सय बढीले साधना गर्ने गरेका छन् ।
जिल्लाका मुख्य वजार केन्द्रमा दैनिक योग तथा ध्यान गर्ने परिपाटीको विकास भएको छ । जीवनको सुधार नै योग हो भन्ने भाष्य स्थापित हुँदै गएको पतञ्जली योग समिति सिन्धुपाल्चोकका अध्यक्ष नातीबाबु धिताल बताउनुहुन्छ ।
जिल्लाको चौतारा, साँगाचोक, लामोसाँघु, बाह्रविसे, सुनकोशी, मेलम्चीलगायतका स्थानमा ब्यवस्थित योग साधना केन्द्रहरु संचालनमा छन् । समितिका अध्यक्ष धितालका अनुसार जिल्लाभर छ सय बढी योग साधनामा लागेका छन् । उहाँका अनुसार एक सय हाराहारीमा योग प्रशिक्षकहरु तयार भैसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्