२०८१ श्रावण १२
                           

‘राजधानीको विषयमा हामीसँग दुई विकल्प छ’ मन्त्री दुलाल

चौतारा- प्रदेश नं. ३ प्रदेशको राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको बेला सामाजिक विकास मन्त्री युवराज दुलालले हामीसँग दुईवटा विकल्प रहेको बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका– ५ मा रहेको वनदेवी माध्यमिक विद्यालयकोे २२औं जन्मजयन्ती, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुर्नमिलन समारोहलाई सम्बोधन गर्दै शनिबार मन्त्री दुलालले आफूहरुसँग दुईवटा विकल्प रहेको बताएका हुन् । ‘प्रदेश राजधानीको विषयमा अहिले हामीसँग दुईवटा विकल्प छन्, एउटा पार्टीको निर्णयलाई स्वीकार गर्ने अर्को पार्टीको निणर्य अवज्ञा गर्ने’, उनले भने– ‘यी दुई चुनौतीको बीच मैले भोलीसम्म ठोस निर्णय गर्नु छ ।’ पार्टीको निर्णय मान्दा मतदाताले गाली गर्ने र पार्टीको निर्णयलाई नमान्दा पार्टी र मन्त्रीको जिम्मेवारी छाड्नुपर्ने चुनौति आफूमाझ रहेको दुलालले बताए ।

आफ्नै प्रदेश भित्र राजधानी हुन लागेको तर आफूहरुले भनेको ठाउँमा हुन नसक्ने हो कि भन्ने शंका उब्जीरहेको बताउँदै मन्त्री दुलालले सबै हिसाबले प्रदेशको मध्यबिन्दू काभ्रे हुने देखिएकाले आफू सोहि पक्षमा लग्नेमा आस्वस्त हुन प्रदेशवासीलाई आग्रह गरे । ‘म सदैव नागरिकको जनअपेक्षा अनुरुप काम गर्छु, तपाईहरु ढुक्क हुनुहोस्,’ दुलालले भने । थुप्रै चुनौतिहरुकोबीच आफूले जिम्मेवारीपूर्वक काम गरिरहेको उनले सुनाए ।

मतदाताहरुले महत्वपूर्ण काम छाडेर हेटौंडाबाट भागेको आरोप लगाएकोप्रति इङ्कित गर्दै आफू त्यसरी पछाडि नहटेको बताए । ‘प्रदेशको राजधानी टुङ्गो लगाउने काम जारी छ, म यतिबेला हेटौंडा हुनुपथ्यो तर आफ्नो जिल्लाको महत्वपूर्ण कार्यलाई नकार्न नसकेर आएको हुँ, भागेको होईन । सम्पूर्ण मतदाताहरुलाई यहि अनुरुपले लिईदिन आग्रह गर्दछु ।’ आफू आलोचनाबाट आत्तिने र प्रशंसाबाट मात्तिने प्रवृत्तिको नभएको बताउँदै मन्त्री दुलालले जनताको कामसँग आफ्नो सरोकार रहेको र प्रदेशको विकासको लागि सदैव लागिपरिरहेको बताए । उनले समृद्धि, सुशासन र विकासलाई प्राथमिकता दिनु अहिलेको तत्कालिन आवश्यकता रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले शिक्षालाई मर्यादित र जीवनोपयोगी बनाउन प्रदेश सरकारले विभिन्न योजना ल्याएको बताउँदै सरकारका योजनालाई कार्यान्वयन गर्न विद्यालयलाई आग्रह गरे । ‘हामीले शिक्षालाई वैज्ञानीक र जीवनोपयोगी बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं, त्यसलाई कार्यान्वयन गर्न शिक्षासँग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछु ।’ शिक्षा क्षेत्रको परिवर्तन शिक्षकहरुबाट हुने भएकोले शिक्षालाई उत्पादनसँग र सीपमूलुक बनाउन लागिपर्ने बताए ।
बनदेवी माध्यमिक विद्यालयको प्राङ्गण बनाउने र विद्यालयलाई सुरक्षित बनाउने कार्यलाई तत्परताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुलालले आफ्नो कार्यकालमा पूर्वाधार विकासको कार्यलाई महत्वका साथ पूरा गर्ने बताए ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यापक दील कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयको प्रगति विवरण, आर्थिक विवरण र आगामी लक्ष्यसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एसईई परीक्षा २०७५ मा उत्कृष्ट अंक ल्याउन सफल भएकी छात्रा सुनिता खत्रीलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । उनलाई नगद् पाँच हजार रुपैंया प्रदान गरिएको हो । त्यस्तै वार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको नगरस्तरीय भलिवल प्रतियोगिताको विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम हुन सफल विद्यालय सेतिदेवी पञ्चकन्या मावि कुविण्डे, द्वितिय इर्खु मावि इर्खु र तृतीय कालिकादेवी मावि बतासेलाई पुरस्कार प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविण घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्याथीहरुले विभिन्न प्रस्तुती देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्