२०८१ चैत्र ११
                           

क्याम्पसहरुमा स्ववियुको सरगर्मी- भोलि मनोनयन दर्ता, जुगलमा सर्वसम्मत

अशोक पराजुली /साँगाचोक

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि चैत्र ५ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेपछि देशभरिका त्रिवि अन्तर्गत आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमाहरुमा चुनावी माहोल ह्वात्तै तातेको छ ।

मिनि चुनावको रुपमा हेरिने स्ववियु निर्वाचनलाई दलहरूले पार्टीको प्रतिष्ठासँग समेत जोडेर हेर्ने हुँदा स्ववियुको नतिजा आफ्नो पक्षमा पार्न दलहरू नै खुलेर लागेका छन् ।

स्ववियुको कार्यतालिका अनुसार भोलि मंगलवार देशभरका क्याम्पसहरुमा मनोनयन दर्ता गर्नुपर्ने छ । त्यसैले पनि विद्यार्थी संघ संगठनहरु यतिबेला आन्तरिक छलफल सँगै चुनावी अभियानमा जुटेका छन् । प्रमुख दल निकटका नेविसंघ,अनेरास्ववियु र अखिल ( क्रान्तिकारी ) प्रतिस्पर्धामा प्रमुख संगठनका रुपमा उत्रिएका छन् ।

मनोनयनको अघिल्लो दिन आज सोमबार जिल्लाका प्रमुख विद्यार्थी संगठनमध्ये दुई संगठन नेविसंघ र अनेरास्ववियुले गठबन्धन गरेर जाने सहमति गरेको नेविसंघका एक जिल्ला नेताले बताए । सहमतिमा जिल्लाका ६-६ वटा क्याम्पसको नेतृत्व भागबन्डा गरिएको छ । तर अखिल (क्रान्तिकारी) ले भने दुई संगठनले गरेको सहमति हारको मानसिकताबाट त्रसित भएर र क्रान्तिकारीसँग हारिने डरले नै दुई संगठन मिलेको दावी गरेको छ ।

अखिल (क्रान्तिकारी) का इन्चार्ज एवं विद्यार्थी नेता मिलन लामाका अनुसार प्रमुख तीन विद्यार्थी संगठनबिच सहमति गरेर जिल्लाका कुनै पनि क्याम्पसमा निर्वाचन नगरौं । सहमति र सहकार्यको सन्देश सिन्धुपाल्चोकबाट दिउँ भन्ने थियो तर त्यो सम्भव भएन । उहाँहरू मिल्नु भएछ । क्रान्तिकारी एक्लै चुनाव लड्न सक्षम छ । क्रान्तिकारी एक्लै चुनाव लड्छ ।

विद्यार्थी संघसंगठनहरुबिच जिल्लाका १२ वटै क्याम्पसमा भागबन्डा गरेर सहमतिमा अगाडि बढ्ने भन्ने प्रयास पनि नभएको भने होइन । प्रमुख तीन संगठनले ४-४ वटा क्याम्पसमा नेतृत्व लिनेगरी छलफल पनि भएको थियो । विद्यार्थी नेताहरूका अनुसार नेविसंघले चार ,अनेरास्ववियुले चार र अखिल ( क्रान्तिकारी ) ले चार क्याम्पसको नेतृत्व लिने र सहमतिमै अगाडि बढ्ने भन्ने छलफल पनि भएको हो तर नेविसंघ र अनेरास्ववियुले छलफललाई लिङ्गरिङ गरेर अन्तिम समयमा दुई संगठन मात्रै मिलेका छन् ।

स्ववियुलाई स्वच्छ र मर्यादित बनाउनका निमित्त क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु समेत  छलफल र समन्वयका निमित्त बैठक नबसेका होइनन् । तर खासै परिणाममुखी छलफल भने हुन सकेन । पब्लिक क्याम्पस संघ सिन्धुपाल्चोकको बैठक फागुन १९ गते काभ्रेको जिरो किलोमा बसेको थियो ।

बैठकले स्ववियु निर्वाचनका सन्दर्भमा केहि महत्त्वपूर्ण निर्णय पनि गर्यो । तर निर्णय कार्यान्वयन भने हुन सकेन । बैठकले स्ववियुको छुट्टै कार्यतालिका समेत बनाएको थियो । तर त्यस कार्यतालिकाले विद्यार्थी संघ संगठनहरुमा झनै अन्योलता थपेको अखिल ( क्रान्तिकारी ) का जिल्ला अध्यक्ष निश्चल सन्जेलले बताए ।

पब्लिक क्याम्पस संघ सिन्धुपाल्चोकका सह सचिव पदमप्रसाद पराजुलीका अनुसार संघले सामुदायिक क्याम्पसहरुमा अस्वस्थ प्रतिस्पर्धा र भड्किलो खर्च गरेर गरिने निर्वाचनले शैक्षिक थलोहरुमा खासै सकारात्मक सन्देश नदिने भएकोले विद्यार्थी संघसंगठनकाबिच सहमति गराउन पहल गर्ने निर्णय गरे अनुसार पहल गरिएको भएता पनि खासै सहमतिको वातावरण भने बन्न नसकेको बताए ।

जिल्लामा साना ठुला गरेर १२ वटा क्याम्पस रहेका छन् । विद्यार्थी सङ्ख्याका हिसाबले चौतारा क्याम्पस चौतारा, अरनिको क्याम्पस बाह्रविसे, सुनकोशी क्याम्पस लामोसाघु र इन्द्रावती क्याम्पस मेलम्चीमा भने अन्य क्याम्पसमा भन्दा विद्यार्थी संख्या दोब्बर रहेको छ । ती क्याम्पसहरुमा विद्यार्थी संख्या २ सय भन्दा माथि रहेको छ । त्यसैले पनि ती क्याम्पसहरुमा चुनावी सरगर्मी अन्य क्याम्पसको भन्दा बढी नै छ ।

     जुगलमा मिल्यो भागबन्डा

जिल्लाका अन्य क्याम्पसमा सहमति जुट्न नसक्दा र दुई संगठनविच मात्रै गठबन्धन हुँदा जुगल बहुमुखी क्याम्पस साँगाचाेकमा भने तीन वटै संगठनविच  सहमति जुटेको छ । प्रमुख तीन विद्यार्थी संगठन र क्याम्पस सञ्चालक समिति सहितको बैठकले सहमति जुटाएको हो । जुगल क्याम्पसका स्ववियु अध्यक्ष सुदर्शन अर्यालका अनुसार जुगल क्याम्पसमा अखिल ( क्रान्तिकारी ) को बलियो पकड रहेको भएता पनि सहमति र सहकार्यको निमित्त हामीले नै हात अगाडि बढायौ र सहमतिको लागि उदारता देखाउदा सहमति जुट्यो । यो नै सबैको निम्ति सकारात्मक सन्देश हो भन्ने लाग्छ । उनले भने जिल्लाका अन्य क्याम्पसमा पनि विद्यार्थी संघसंगठनहरुले आ आफ्नो संगठनको आकार संख्या अनुसार अगाडि बढ्न तयार भए सहमति जुट्नेछ ।

निर्णय अनुसार अध्यक्ष,उपाध्यक्ष र ४ सदस्य सहित ६ जना अखिल ( क्रान्तिकारी ), कोषाध्यक्ष,सह सचिव र १ सदस्य सहित ३ जना नेपाल विद्यार्थी संघ, सचिव र १ सदस्य सहित २ जना अनेरास्ववियुले लिनेगरी सहमति भएको नेविसंघका नवीन गिरीले बताए । सहमति अनुसार नै भोलि मनोनयन दर्ता गरि सर्वसम्मत समिति घोषणा गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्