अशोक पराजुली/साँगाचाेक
चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ११ को नेकपा एमाले वडा कमिटी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ । सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ ।
करिब दुई महिना अगाडि मात्रै वडा अधिबेशनबाट निर्वाचित वडा कमिटीका अध्यक्ष,सचिव सहितको सिङ्गो कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेपछि एमाले बृतमा खैलाबैला मच्चिएको छ ।
नेकपा ( माओवादी केन्द्र ) चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ११ र १२ को समन्वय र सहिद प्रतिष्ठान नेपाल सिन्धुपाल्चोकको आयोजनामा सहिद पार्क फलाँटेमा आयोजना गरिएको सहिद सप्ताह अन्तर्गत सहिदको प्रतिमामा माल्यार्पण, सहिद परिवार सम्मान तथा पार्टी प्रवेश कार्यक्रमका अवसरमा उहाँहरू पार्टी प्रवेश गर्नुभएको माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नेत्रविक्रम माझीले बताए ।
उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा कमिटी अध्यक्ष तिर्थराज गिरी,सचिव गोविन्दप्रसाद पराजुली,सदस्य रामहरी गिरी,श्यामजी गिरी,बङ्गाली माझी ,रन्जित गिरी,विमला गिरी,पार्वती पुरी,अमित गिरी,अपी गिरी,अमृता गिरी हुन् । त्यस्तै एमालेका बौद्धिक क्रियाशिल नेता भरत राज गिरी, अनेम संघ वडा कमिटी सदस्य सृजना भारती, संगठित सदस्य अमृता गिरी, देवि गिरी, हिराराज गिरी, पवित्रा गिरी, सन्दीप गिरी, हर्कराज गिरी, ईश्वरी गिरी, सुशीला गिरी, बलराम गिरी, परिच्छिद गिरी, नवराज गिरी र पशुपति गिरी रहेका छन् ।
त्यस्तै नेपाली काङ्ग्रेसबाट क्रियाशिल सदस्य सुनकेस्रा गिरी, सानीमैयाँ गिरी, हेमराज गिरी, गम्भीर गिरी छन् भने राप्रपाका सुन्दर ठकुरी रहेका छन् भने रास्वपाका सदस्य अनन्तराज गिरी रहेका छन् । त्यस्तै वडा नम्बर १२ का नेकपा (एमाले) वडा कमिटी सदस्य तिर्थबहादुर श्रेष्ठ र स्वतन्त्र युवा सन्तोष सिलवाल रहेका छन् । पार्टी प्रवेशको लागि बिर्ताथोक सिङ्गो गाउँ नै उर्लिएर आएको थियो ।
उनीहरूलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं चौतारा साँगाचाेकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटा, केन्द्रिय सदस्य तथा बागमती प्रदेशका पुर्व मन्त्री एवं सांसद युवराज दुलाल,केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज केशव नेपाल,केन्द्रिय सदस्य झम्क पराजुली,प्रेमप्रसाद सापकोटा,जिल्ला अध्यक्ष गोविन्दप्रसाद पराजुली लगायत नेताहरूलेपार्टीमा स्वागत गरेका थिए ।
पछिल्लो समय देशभर एमाले र काङ्ग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर नै चलेको छ । चौतारा साँगाचाेकगढी नगरपालिकामा मात्रै पछिल्लो तिन महिनामा पाँच सय जना अन्य पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको नगर सचिव रामशरण विकले बताए ।
नवप्रवेशी तिर्थराज गिरीले अब यो देशमा कम्युनिष्ट पार्टीको नेतृत्व माओवादी केन्द्रले मात्रै गर्न सक्ने र एमाले दिनप्रतिदिन अलोकप्रिय हुँदै गएकोले देशभर सच्चा कम्युनिष्टहरुबिच एकता जरुरी रहेकोले कमिटीका साथीहरूबिच छलफल गरेरै माओवादी केन्द्रमा समाहित भएको बताए ।
सहिद परिवारलाई सम्मान
यसैबीच सहिद प्रतिष्ठान सिन्धुपाल्चोकले एक कार्यक्रम गरि जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ ।
सहिद सप्ताहको अवसरमा चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ फलाँटेमा बुधबार आयोजना गरिएको सहिदको प्रतिमामा माल्यार्पण तथा सहिद परिवार सम्मान कार्यक्रममा नगरपालिका भित्रका २३ जना सहिद परिवारलाई सम्मान गरिएको थियो । त्यसै क्रममा फलाटेमा निर्माण भएको सेभेनस्टार सहिद स्मृति पार्कमा राखिएको सहिदहरुको प्रतिमामा माओवादी केन्द्रका नेताहरूले माल्यार्पण गरि सम्मान व्यक्त गरेका थिए ।
सो समारोहमा बोल्ने माओवादी केन्द्रका नेताहरूले १० बर्षे जनयुद्धका क्रममा युद्धमा होमिएर आफ्नो ज्यानको आहुती दिने सहिदहरुले रगत नबगाएको भए अहिलेको यो परिवर्तन सम्भव नभएको र देशमा गणतन्त्र आउने स्थिति नै नभएको बताए । त्यसैले देश र जनताको निम्ति बलिदान गर्ने महान सहिदहरुलाई कहिल्यै भुल्न नसकिने र सहिदहरुप्रति सधैं श्रद्धाभावका साथ सम्मान गरिने बताए ।
सहिद परिवारको तर्फबाट बोल्दै सहिद देवलाल श्रेष्ठका छोरा डा. सरोज श्रेष्ठले हाम्रा अभिभावक हामीले गुमायौ तर हाम्रा अभिभावकले बगाएको रगत र बलिदानको सधैं सम्मान भए हामीलाई पनि गर्वानुभुति हुने र सहिद र सहिद परिवारलाई सम्झिएकोमा आयोजकप्रति हार्दिक धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस्