२०८३ भाद्र २

महिला अधिकार र सामाजिक न्यायमा योगदान पुर्‍याउने १२ महिला सम्मानित

सिन्धुपाल्चोक | ग्रामीण महिला सिर्जनशील परिवारले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र हिंसामुक्त समाज निर्माणमा योगदान पुर्‍याएका १२ जना महिलालाई ‘सिर्जनशील समानता पुरस्कार’बाट सम्मान गरेको छ ।

सम्मानित हुनेमा महिला हिंसाविरुद्धकी अभियन्ता मनिषा रानामगर, संस्थाकी पूर्वअध्यक्ष कल्याणी नेपाल, संस्थापक रामदेवी तामाङ, सञ्चारकर्मी कमला पाख्रिन, राजनीतिकर्मी तथा हिमाल आरोही माया गुरुङ, भोटेकोशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष  दाबुटी शेर्पा, त्रिपुरासुन्दरीकी दुर्गादेवी नेपाल, जुगलकी सिर्जना तामाङ, लिसङ्खुपाखरकी हेमगंगा मोक्तान, सुनकोशीकी लक्ष्मी पौडेल, बलेफीकी कमला कायस्थ र बाह्रबिसेकी सुशिला पाख्रिन छन् ।

विशेषगरी स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गरेका महिलाहरूले संघीयताको नयाँ अभ्यासका क्रममा देखिएका संस्थागत र स्रोतसम्बन्धी चुनौतीका बीच न्यायबाट वञ्चित तथा हिंसा र अन्यायमा परेका व्यक्ति र समुदायको पक्षमा खेलेको भूमिकालाई सम्मानको आधार बनाइएको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार उनीहरूले व्यक्तिगत सुविधा र अवसरभन्दा माथि उठेर प्रभावित व्यक्तिलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउन र कानुनी तथा न्यायिक प्रक्रियामा पहुँच स्थापित गर्न भूमिका खेलेका थिए ।

कार्यक्रमको उद्घाटन पूर्व स्थानीय विकासमन्त्री तथा संस्थाका सल्लाहकार अमृतकुमार बोहरासहित स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक तथा संस्थाका सदस्यहरूले ३३ वटा दीप प्रज्वलन गरेर गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले महिलाले अहिले प्राप्त गरेका संवैधानिक तथा सामाजिक अधिकारका पछाडि अग्रज महिलाहरूको लामो संघर्ष रहेको बताएका थिए । उनीहरूले विगतमा सुरु भएका महिला अधिकार र सचेतनाका अभियानले वर्तमान पुस्ताका महिलालाई सामाजिक तथा राजनीतिक नेतृत्वमा आउन आधार तयार गरेको उल्लेख गरे ।

त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष गीता नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी जिल्ला सभापति माया गुरुङले अग्रज महिलाको संघर्ष र योगदानलाई निरन्तरता दिँदै नयाँ पुस्ताले अधिकार र नेतृत्वको अभियान अघि बढाउनुपर्नेमा जोड दिए ।

सम्मानित सुशिला पाख्रिनले विभिन्न कठिनाइ र चुनौतीका बीच महिलाहरू एकताबद्ध भएर अघि बढिरहेको बताउँदै प्राप्त सम्मानले सामाजिक काममा थप ऊर्जा दिएको बताइन् ।

३३ वर्षदेखि महिला अधिकारको अभियान

ग्रामीण महिला सिर्जनशील परिवारको स्थापना २०५० साल साउन ३२ गते भएको हो । स्थापना भएदेखि नै संस्थाले ग्रामीण क्षेत्रमा महिलामाथि हुने विभेद, मानव बेचबिखन, आधुनिक दासता र हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।

संस्थाले महिला अधिकारसँगै बालबालिका तथा किशोरकिशोरीको शिक्षा र अधिकार संरक्षणका क्षेत्रमा पनि काम गर्दै आएको जनाएको छ । संस्थापक अध्यक्ष देवी अधिकारीका अनुसार विभिन्न चुनौतीका बाबजुद संस्था समुदायदेखि जिल्लास्तरसम्म सामाजिक रूपान्तरण र बालअधिकार संरक्षणको अभियानमा निरन्तर सक्रिय छ ।

संस्थाले महिलाले जीवनमा भोगेका हिंसा, विभेद र कठिनाइलाई निराशाको कारण मात्र नभई सामाजिक परिवर्तनको आधार बनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

कार्यक्रमको सञ्चालन महासचिव कल्पना कार्कीले गरेकी थिइन्। उपाध्यक्ष सुमित्रा अधिकारीले अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने अध्यक्ष नानीमाया थापाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्