लामो समयदेखि सेवाग्राहीको आलोचना खेपिरहेको चौतारा अस्पतालको बाहिरी मुहार मात्रै हैन, भित्री सेवा र सुविधामा पनि परिवर्तन आएको छ ।छोटो समयमै अस्पतालको व्यवस्थापन तथा उपचार शैली राजधानीका ठूलो निजी अस्पतालहरूसँग तुलना गर्न सकिने बनेको छ । विविध कारणवश विगतमा सामान्य रोगका लागि पनि सहरका ठूला अस्पताल रिफर गरिरहनुपर्ने बाध्यता रहेको यस अस्पतालमा अहिले जटिल रोगहरूको समेत भरपर्दो उपचार हुने भएको छ । उपचाररत बिरामी तथा कुरुवाका अनुसार अहिले स्टाफ तथा नर्सहरूको बोलीमा समेत धेरै ठूलो परिवर्तन आएको छ ।
चौतारा अस्पतालमा अहिले जनरल सेवा, हाडजोर्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, नाक, कान, घाँटी, छाला रोग सम्वन्धीको विशेषज्ञहरूबाट भरपर्दो उपचार भइरहेको छ । साथै डेन्टल तथा आँखा उपचार सेवा पनि उपलब्ध गराइरहेको छ । साथै छिटो छरितो र भरपर्दो इमर्जेन्सी सेवा पनि अस्पतालले दिइरहेको छ । चोटपटक, अपाङ्गता वा अन्य समस्याहरूको उपचारका लागि फिजियोथेरापी सेवा पनि चौतारा अस्पतालले उपलब्ध गराइरहेको छ ।
यहाँ अपेन्डिक्स, हाइड्रेसिल, हर्निया, गोलब्लाडर, आन्द्रा तथा पेटलगायतका शल्यक्रियाहरू पनि सफलतापूर्वक भइरहेको छ । साथै २४ सै घण्टा आकस्मिक प्रसुती शल्यक्रिया सेवा उपलब्ध गराइरहेको छ । एक्सरे, भिडियो एक्सरेका साथै प्रयोगशालावाट रगत, मृगौलालगायत सबै किसिमका डायग्नोस्टिक परीक्षणहरू पनि अहिले यहीं भरपर्दो मेसिनहरूबाट गरिन्छ ।
‘उपचारको लागि अब अन्यत्र जान पर्दैन’
हामीले अस्पतालले दिने सेवा र सुविधामा सुधार गरेका छौं। ओपीडी पनि पहिलेभन्दा निकै व्यवस्थित र भरपर्दो तरिकाबाट सञ्चालनमा ल्याइएको छ । प्रसुती सेवा पनि उत्कृष्ट बनेको छ । यसकै लागि अब बाहिर जानुपर्ने बाध्यता छैन । मृगौलारोगीहरूका लागि अब यहीं उत्कृष्ट हेमोडायलासिस सेवा पनि उपलब्ध छ । त्यस्तै यहाँ मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्बन्धी परामर्श कक्ष स्थापना गरी सेवा पनि उपलब्ध गराइरहेको छ ।
अस्पतालबाट शल्यक्रिया सेवामा विरामीले रगतको लागि भौतारिने पर्ने भएकाले ब्लड बैंक सञ्चालन गर्न माग जनगुनासो आइरहेको अवस्थामा एम्बुलेन्स संख्या थप गर्ने र ब्लड बैक तत्काल सञ्चालनमा ल्याउने योजना छ ।
प्रतिक्रिया दिनुहोस्