२०८१ जेष्ठ ९

इर्खुमा चट्याङ जोखिम न्यूनिकरण प्रविधि जडान

इर्खु- अत्याधिक चट्याङको जोखिम रहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ८ मा पर्ने इर्खुमा चट्याङ जोखिम न्यूनिकरण प्रविधि जडान गरिएको छ ।

प्रविधिको जडान पछि यहाँका २ सय ७० घर धुरी चट्याङबाट सुरक्षित भएका छन् । ‘यो प्रविधिले २ सय १४ मिटर वरिपरि सुरक्षित हुन्छ,’ प्राविधिक पेम्वा तामाङले भने– ‘यो नेपालमा नयाँ प्रविधि हो तर यसले चट्याङबाट सुरक्षा प्रदान गर्छ ।’ यो प्रविधि जडानको लागि ३ लाख लाग्ने तामाङले बताए ।

इको, युएनडिपीको सहकार्यमा जनहित ग्रामीण सेवा समितिले सञ्चाल इर्खुमा सञ्चालन गर्दै आएको विपद् जोखिम न्यूनिकरण कार्यक्रम अन्र्तगत सो प्रविधि जडान गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक चिरन्जिवी कट्टेलले जानकारी दिए । ‘विपद् जोखिम योजना बनाउँदा इर्खु चट्याङबाट अति प्रभावित देखिएकोले यो प्रविधि जडान गरिएको हो,’ उनले भने । कट्टेलका अनुसार यो प्रविधिबाट इर्खुमा रहेको पूर्वाधार, विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय, नीजि निवास सुरक्षित बनेको छ । प्रविधि जडानपछि १ हजार ३ सय भन्दा नागरिक लाभान्वित हुने देखिन्छ ।

चट्याङ जोखिम न्यूनिकरण प्रविधि सुरक्षित रहेका कारण जिल्लाका अन्य पालिका र वडाहरुमा समेत जडान गरिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्