२०८१ पुष २९
                           

नागरिक अभियानमा दमन दाइसंग गाँसिएका केही अविस्मरणीय स्मृतिहरु

गौरी प्रधान -आफ्नो विद्यार्थी जीवनकाल देखी नै लोकतान्त्रिक आन्दोलनमा सकृय श्रद्धेय दमन नाथ ढुंगाना नेपाली जनताको निम्ति एक लोकप्रिय नाम हो। निरंकुश राजतन्त्रकालमा कलेज र विश्वविद्यालयमा लोकतन्त्रको पुनःस्थापनामा प्रतिवद्ध विद्यार्थी एवं युवा अभियन्ता देखि, वरिष्ठ अधिवक्ता, सांसद, सभामुख, नागरिक अगुवा हुँदै मानव अधिकार र शान्ति अभियानमा उहाँले पुर्‍याउनु भएको योगदान देशको निम्ति महत्वपूर्ण र सह्रानीय रहेको छ ।

जीवनको उत्तरार्धमा उहाँले देशमा संक्रमण कालको अन्त्य र दिगो शान्तिको स्थापना भएको हेर्ने ठूलो इच्छा राख्नु भएको थियो । त्यो, यथार्थतामा पूर्ण रुपेण पूरा नभएतापनि उहाँ र उहाँका सहयोद्धा स्व. पद्मरत्न तुलाधरले गर्नु भएको सेवा, संघर्ष र नयाँ नेपाल निर्माणको निम्ति निर्वाह गर्नु भएका सहजीकरण नेपाल र नेपालीले, सायद कहिल्यै पनि विर्सन सक्ने छैन।

हरेक मान्छे जन्मे पछि एकदिन मर्नु पर्छ, त्यो एक शाश्वत सत्य हो । यद्यपि, उहाँको असामयिक निधनले उहाँका जीवन साथी र परिवारले मात्र होइन, सिंगो देश र समाजले नै एक कर्मशील, प्रतिवद्ध र इमान्दार नागरिक अगुवा र संरक्षक गुमाएको महशुस गरेको छ । उहाँ र स्व. पद्मरत्न तुलाधरले लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा निर्माण गरेको स्थान तत्काल पूरा हुन गाह्रो छ ।

यद्यपि उहाँहरुले देखाउनु भएको बाटो र निर्वाह गर्नु भएको भूमिका सुस्पष्ट र उज्यालोन्मुख भएकोले देशमा उहाँहरुले कोरेका मार्गचित्रमा हिँड्न हाम्रो देशका नयाँ पुस्ताले पक्कै पनि मिहेनत र श्रम गर्ने नै छ । म, हाम्रो परिवार, पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान, नागरिक समाज र मानव अधिकार अभियानको तर्फबाट श्रद्धेय दमन दाइप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवार(जनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

स्व. दमन दाइसँगको मेरो सम्पर्क र सम्बन्ध झण्डै चार दशक लामो छ । मेरो उहाँसँगको सम्पर्क कलेजको विद्यार्थी जीवन कालको दौरान २०३७ सालमा सम्पन्न ऐतिहासिक जनमत संग्रहमा बहुदलीय शासन व्यवस्थाको पक्षमा गरेको पैरवी, परिचालन र अभियानको वेला देखिको नै हो । उहाँसँग दर्जनौ पटक मानव अधिकार, शान्ति र नागरिक अभियानको वेला संगसंगै हिंडेको, बोलेको र अभियान परिचालन गरेको सम्झना ताजा छ । उहाँको महाप्रस्थानको ४५ औं दिनको यो श्राद्धको वेला म निम्न १० घटनाहरुमा आधारीत उहाँसँगको मेरो स्मृति ताजा बनाउन प्रयत्न गर्दै छुः
१. २०३७ सालको जनमत संग्रह ।

तत्कालीन राजा वीरेन्द्रले देशव्यापी रुपमा उठेको २०३५/२०३६ को ऐतिहासिक विद्यार्थी आन्दोलनलाई मत्थर पार्न विछ्याइएको जनमत संग्रहको आफ्नै कथाव्यथाहरू छन् । २०३६ साल जेठ १० गतेको शाही घोषणालाई तत्कालीन प्रतिवन्धीत नेपाली काँग्रेस लगायत केही कम्युनिष्ट पार्टीहरुले तत्कालै स्वागत गरे तापनि त्यसबेलाका क्रान्तिकारी शक्ति नेकपा (माले) र नेकपा (चौथो महाधिवेशन)ले त्यसलाई “धोका हो” भन्दै स्विकार गरिसकेको अवस्था थिएन ।

उनीहरुले उक्त जनमत संग्रहको विषयमा कहिले आलोचनात्मक समर्थन र कहिले बहिष्कारको नारा घन्काइरहन्थे । तर, म स्वयं आवद्ध अनेरास्ववियू (एकताको पाँचौ) ले भने जनमत संग्रहको आलोचनात्मक समर्थन गर्दै निलो रंगको बहुदलीय शासन व्यवस्थाको पक्षमा अभियान रआन्दोलन चलाउने निर्णय गरेको थियो ।

त्यसबेलाका एक क्रान्तिकारी पार्टी, नेकपा (माले) संग आवद्ध नेता तथा कार्यकर्ताहरु अधिकाँश भूमिगत अवस्थामा रहेकोले लोकतान्त्रिक अभियानहरूको सार्वजनिक कार्यक्रमका निम्ति हामीहरु श्रद्धेय मनमोहन अधिकारी, गणेश मान सिंह, सिद्धिलाल सिं, भरत मोहन अधिकारी, पद्मरत्न तुलाधर, कृष्ण प्रसाद शिवाकोटी, डा. मथुरा प्रसाद श्रेष्ठ, सुशील चन्द्र अमात्य, विष्णु बहादुर मानन्धर, शम्भु राम श्रेष्ठ, माणिक लाल श्रेष्ठ, मार्शल जुलुम, सिताराम मास्के लगायतकोमा गएर छलफल तथा सल्लाह लिन पुग्दथ्यौं ।

त्यसैबेला, सोही उद्धेश्यका निम्ति हामीहरु श्रद्धेय दमन दाइ, सिन्धु नाथ प्याकुरेल र बद्री प्रसाद खतिवडाज्यूमा पनि पुग्दथ्यौं । त्यसबेला, बहुदलीय शासन व्यवस्थाको पक्षमा जन परिचालन, जनअभियान र आमसभा गर्न हामी मिहेनत का साथ खट्थ्यौँ र उहाँहरुलाई वक्ताको रुपमा आम सभामा प्रस्तुत गर्थ्यौ। दमन दाइ सधैंभरि लोकतान्त्रिक बहुदलीय व्यवस्थको पक्षमा नै पैरवी गर्नु हुन्थ्यो ।

२. २०४५ र २०४६ को जनआन्दोलन ।
२०३७ सालको जनमत संग्रहमा सुधारिएको पंचायती व्यवस्थाूको पक्षलाई षडयन्त्र मूलक तरिकाले विजयी घोषित गरे पश्चात् जनतामा त्यसको कारण ठूलो असन्तुष्टि प्रकट भयो । त्यसपछि गाउँ, सहर र भज्याङ्ग चारै तिर पंचायत विरोधी अभियानहरू झन झन सशक्त हुन थाल्यो ।

नागरिक समाज अभियानमा त्यतिञ्जेल पद्मरत्न तुलाधर, डा. मथुरा प्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता लक्ष्मण अर्याल, पूर्व महान्यायधिवक्ता रामानन्द प्रसाद सिंह, पूर्व सचिव देवेन्द्र राज पाण्डे, वरिष्ठ अधिवक्ता सुवास नेम्वाङ र त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति शाक्य, मानवअधिकारवादी ऋषिकेश शाह, पाण्डव राज घिमिरे, अधिवक्ता विष्णु रावत लगायतका व्यक्तित्वहरु प्रजातन्त्रको पुनस्स्थापनाको पक्षमा सकृय हुनुहुन्थ्यो ।

जब देशमा नेपाली काँग्रेस र संयुक्त वाममोर्चाले २०४५ साल फागुन ७ गते देशव्यापी आन्दोलनको घोषणा गर्‍यो, त्यस अवधिमा एक युवा विद्यार्थी अभियन्ताको हैसियतमा पुतली सडक स्थित उहाँको ल फर्ममा धेरै चोटी अनौपचारिक भेटघाट गर्ने, उहाँको सल्लाह सुझाव लिने लगायतका कामहरु भइरहन्थ्यो । त्यतिजेल सम्ममा मैले आफ्नो छुट्टै मानव अधिकार र बाल अधिकारको क्षेत्रमा एक अभियन्ताको हैसियतले आफ्नो भूमिका निर्वाह गर्दै अगाडि बढिरहेको अवस्था थियो ।

यसअघि नेपालको युवा विद्यार्थी आन्दोलनको मार्फत त्रिविवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्ष र अनेरास्ववियूको अध्यक्षको हैसियतले लोकतान्त्रिक आन्दोलनमा काम गरिसकेको सन्दर्भमा दमन दाइ र पद्मरत्न तुलाधरसंग नियमित जसो भेटघाट हुन थालीसकेको थियो ।

३. २०४७ सालको संविधान निर्माण ।
प्रजातन्त्रको पुनस्थापना पश्चात् देशमा बहुदलीय शासन व्यवस्था र संवैधानिक राजतन्त्र अङ्गीकार गरेको संविधान बनाउन तत्कालिन सर्वोच्च अदालतको न्यायधीश मा. विश्वनाथ उपाध्यायको अध्यक्षतामा बनेको संविधान सुझाव आयोगमा माधव कुमार नेपाल, निर्मल लामा र दमन दाइहरू विभिन्न पार्टीहरूका प्रतिनिधिको रुपमा सदस्य हुनुहुन्थ्यो ।

त्यसबेलाको संविधान निर्माणको क्रममा अन्य आयोगका सदस्यहरु संगसंगै उहाँसँग पनि विभिन्न चरणमा भेटघाट र वार्ताहरू हुने गर्दथ्यो । त्यतिञ्जेल राष्ट्रिय सभा गृहमा कार्यालय रहेको आयोगमा दिनकै विभिन्न संघ संगठन र अभियानहरूले जुलुस सहित भेटघाट गरी संविधानमा समावेश गर्न आ(आफ्नो माग पत्रहरु पेश गर्ने गर्दथ्यो

त्यसवेला, मेरो नेतृत्वमा सिविनको स्थापना सन् १९८७ मा नै भै सकेको थियो । त्यसैले, नेपाली बालबालिका र बाल अधिकार अभियानको तर्फबाट हामीले १० बुँदे सुझावपत्र आयोगलाई बुझाएका थियौं । हाम्रो सुझावपत्र ग्रहण गर्दै अध्यक्ष उपाध्यायले भन्नू भएको थियो, “ गौरी(जी, यस आयोगमा हरेक दिन जसो विभिन्न वर्ग र समुदायका मानिसहरु आआफ्ना मागहरु प्रस्तुत गर्न आइरहेछन् ।

सायद, तपाईहरु मात्र होला जो आफू बाहेक अरु अर्थात बालबालिकाको हकहितको निम्ति आवाज बोकेर आउनु भएको छ । यो संविधानमा हामी बालबालिकाको हक(हितको कुरा पनि पक्कै समावेश गर्नेछौं ।“ त्यसवेला दमन दाइ पनि हुनुहुन्थ्यो र उहाँले भन्नू भएको थियो, “गौरीजीहरु त युवा र मानव अधिकार अभियन्ता पनि हुनुहुन्छ ।

बालबालिकाको हकहितको कुरा हामीले बिर्स्यौँ भने उहाँहरुले हामीहरुलाई त्यतिकै कहाँ छोड्नु होला र ?” हाँस्दै भन्नू भएको आजै जस्तो लाग्छ । त्यहि क्रममा दमन दाइसँगको मेरो हिमचिम र भेटघाट अझै बढ्दै गएको हो ।
४. आम निर्वाचन, २०४७ र अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षण
३० वर्ष भन्दा बेसी समय पश्चात् जन आन्दोलनको कारण भएको बहुदलीय संसदको निर्वाचनलाई स्वतन्त्र, धाँधलीरहित र सफल बनाउन मानव अधिकार र नागरिक अभियानको तर्फबाट योगदान गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको गठन भएको थियो ।

त्यसको नेतृत्व मानव अधिकार संरक्षण मंच (मासम)को तर्फबाट वरिष्ठ अधिवक्ता बासुदेव ढुंगाना र नेपाल मानव अधिकार संगठनको तर्फबाट अध्यक्ष ऋषिकेश शाहले संयुक्त रुपमा गर्नु भएको थियो । त्यसको महासचिव हुनुहुन्थ्यो प्रकाश काफ्ले । अन्तरराष्ट्रिय निर्वाचन पर्यवेक्षकहरूको संयोजन, सूचना र जानकारी व्यवस्थापन, र निर्वाचन आयोगसँगको सहकार्यको लागि गठित व्यवस्थापन समितिको कार्यकारी संयोजकको रुपमा म कृयाशील थिँए ।

साथमा गोपाल शिवाकोटी, नारद भारद्वाज, निदेश कोइराला, बिजय सैजु, सुवोध श्रेष्ठ आदि साथीहरु पनि सचिवालयका सदस्य हुनुहुन्थ्यो । सो निर्वाचनमा दमन दाइ र मल्ल के सुन्दर एउटै निर्वाचन क्षेत्रमा प्रत्यासी हुनुहुन्थ्यो । त्यस अवसरमा, निर्वाचनका अन्य प्रत्यासीहरुसंग जस्तै दमन दाइसँगको भेट बाक्लो नै रह्यो। हामीले उहाँको निर्वाचन क्षेत्रमा रहेका पोलिङ्ग बुथहरूको पर्यवेक्षण गर्दा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू संग उहाँको भेटघाट पनि गराएका थियौं ।

त्यसवेला, प्रमुख निर्वाचन आयुक्त हुनुहुन्थ्यो सुर्य प्रसाद श्रेष्ठ । निर्वाचनमा अन्तराष्ट्रिय पर्यवेक्षकहरू परिचालन गर्न उहाँ र तत्कालिन अन्तरिम सरकारको पनि महत्वपूर्ण सहयोग हासिल भएको थियो । सोही निर्वाचनमा उहाँ नेपाली काँग्रेसको तर्फबाट बिजयी हुनुभए पश्चात् संसदको सभामुखमा पनि निर्वाचित हुनुभयो । सभामुखको रुपमा उहाँले निर्वाह गर्नु भएको भूमिका नेपालको संसदको इतिहासमा उल्लेखनीय नै रह्यो । ूसरकार सत्तापक्षको र संसद प्रतिपक्षको होू उहाँको उद्घोष लोकतन्त्रको निम्ति सदा स्मरणीय र महत्वपूर्ण रहिरहने छ ।

५. मानव अधिकार सम्वन्धी अन्तराष्ट्रिय महासन्धिहरूको कार्यान्वयन
निर्दलीय पंचायती व्यवस्था कालमा त्यहाँ मानव अधिकारको कुनै गुञ्जायस थिएन । त्यतिञ्जेल अन्तराष्ट्रिय रुपमा देखाउनु कै निम्ति भएपनि जातिय विभेद तथा रंगभेद विरुद्धको महासन्धि नेपालले हस्ताक्षर र अनुमोदन गरेको थियो । त्यसबाहेक, देशमा मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्न त्यसबेलाको सरकारले कुनै पहल गरेन, बरु नागरिकको मानव अधिकार माथी सधैं नै धावा बोल्ने काम गर्‍यो ।

जन आन्दोलनको सफल समापन भए पश्चात् गठित अन्तरिम सरकारको प्रधानमन्त्री श्री कृष्ण प्रसाद भट्टराईको पालामा नेपालले एकैचोटी ८ भन्दा वेशी मानव अधिकार सम्वन्धी महासन्धिहरूको हस्ताक्षर र अनुमोदन भएको थियो । तर ती महासन्धिहरूको प्रभावकारी कार्यान्वयन उपयुक्त कानूनहरुको निर्माण बिना हुन कठिन थियो । त्यसैले, ती आवश्यक कानून निर्माणको निम्ति संसद, कानूनविद्, र सरोकारवाला संस्थाहरुको सहयोग र सहकार्यको निम्ति सभामुखको कार्यालयमा जानको साथै उहाँलाई सार्वजनिक कार्यक्रमहरुमा आमन्त्रण गरी संसदलाई अपिल गर्ने कामहरु हामीहरुले निरन्तर गरी रह्यौं ।

६. बालबालिका सम्वन्धी ऐनको निर्माण
देशमा २०४७ को नयाँ संविधान बने पश्चात्, खासगरी अन्तर्राष्ट्रिय महासन्धिको भावना अनुसार बाल अधिकार सम्वन्धी कानून बनाउनु पर्ने अवस्था थियो । सो विषयमा बाल अधिकार अभियन्ताको हैसियतले म रातोदिन सकृय थिँए । त्यसैले, बाल अधिकार अभियानको तर्फबाट तत्कालीन नेपाल कानून सुधार आयोगको अध्यक्ष श्री तिर्थ मान शाक्यसँग मेरो घनिष्ठ सहकार्य भै रहन्थ्यो ।

त्यसवेला नेपाल ल सोसाइटीका अध्यक्ष वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ र बाल विकास समाजको अध्यक्ष डा. हेमाङ्ग दिक्षीतसंग पनि सो कार्यको निम्ति परामर्श लिने गर्दथे । त्यसैले, तत्कालीन बालबालिका सम्वन्धी ऐन, २०४८ को निर्माण र पारित गर्ने वेला दमन दाइसँग निरन्तर सम्पर्क, सम्बन्ध र सहकार्य भएको थियो । तर, बाल अधिकारको भावना अनुसार सशक्त कानून ल्याउन प्रयत्न गर्दागर्दै पनि सोचे अनुसारको मस्यौदा विधेयक निर्माण हुन नसके पश्चात् त्यसलाई उहाँको प्रत्यक्ष अप्रत्यक्ष सहयोग प्राप्त गरि केही सुधार गर्न प्रयत्न गरियो ।

तर सो विषयमा म पूर्ण संतुष्ट हुन नसकेको देखे पछि उहाँले बोलाएर मलाई सम्झाउनु भो, “गौरी बाबू, तपाईले सोचे जस्तो बिधेयक बन्न नसके पनि यसलाई अगाडि बढाऔं, पछि बिस्तारै संशोधनको बेला सुधार गर्दै जानू पर्छ ।“ महासन्धि अनुमोदन गरेको छोटो अवधिमा तपाईहरुको मिहेनत ले यति भए पनि पहिलो कानून बन्नु त्यो सकारात्मक कुरा हो भनेर सम्झाउनु भएको मैले कहिल्यै बिर्सेको छैन ।
७. बृहत् नागरिक अभियान, २०५७
तत्कालिन नेकपा माओवादीले संचालन गरेको सशत्र द्वन्द्व अर्थात उहाँहरुले भनेको “जनयुद्धू” को चरम उत्कर्षको वेला थियो । देशमा हरेक दिन कति जना मान्छे मारिए, कतिजना घाइते र वेपत्ता भए, कतिजना आफ्नो थात थलोबाट बेपत्ता पारिए भनेर रेडियो टीभीबाट सुन्नु पर्ने अवस्था थियो । गाउँगाउँबाट राज्यको उपस्थिति कमजोर हुँदै गएको स्थिति थियो । सरकार गाउँमा र माओवादी सहर छिर्न सक्ने अवस्था नै थिएन ।

देशमा शान्ति र मानव अधिकारको बहालीको निम्ति शान्तिवार्ता, युद्धविराम र संविधान सभाको माग चौतर्फी जागरुक रुपमा अगाडि बढिरहेको अवस्था थियो । त्यसवेला सो कार्यको निम्ति मानव अधिकार र नागरिक अभियानको तर्फबाट सहजीकरण गर्न दमन नाथ ढुंगाना र पद्मरत्न तुलाधरको सकृयता सर्वविदितै थियो । त्यतिञ्जेल, म गैरसरकारी संस्था महासंघ र मानव अधिकार एलाइन्सको राष्ट्रिय अध्यक्षको रुपमा कृयाशील थिँए ।

शान्तिवार्ताको निम्ति नागरिक समाज अगाडि बढिरहेको अवस्था थियो । त्यसवेला, हामीले काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न ठाउँहरुमा आयोजना गरेका मानव अधिकार तथा शान्ति अभियानहरूमा श्रद्धेय दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, डा. मथुरा प्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीकृष्ण पहाडी, श्याम श्रेष्ठ, सुशील प्याकुरेल आदिको सकृय सहभागिता हुने गर्दथ्यो । उहाँहरुले देशमा संविधान सभा मार्फत संविधानको निर्माण, गणतन्त्रको स्थापना, संघियता र विकेन्द्रीकरण, धर्म निरपेक्षता र सामाजिक समावेशिताको पक्षमा महत्वपूर्ण पैरवी गर्नु हुन्थ्यो । यस क्रममा दमन दाइसँग देशका विभिन्न क्षेत्रहरुमा संगसंगै अभियान यात्रा गरेको हिजो जस्तो मात्र लाग्दछ ।

यस अर्थमा, देशमा शान्ति निर्माण तथा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा दमन दाइ र पद्मरत्न तुलाधरको महत्वपूर्ण ऐतिहासिक भूमिका रहेको कुरा जग जाहेर छ ।
८. रुकुम खलंगा को वृहत नागरिक दवाव अभियान, २०६१
मानव अधिकार एलाइन्स, गैरसरकारी संस्था महासंघ तथा स्थानिय नागरिक समाजको संयुक्त पहलमा रुकुम खलंगा को स्थानिय बाल मन्दिरको प्रांगणमा शान्ति, मानव अधिकार र सामाजिक न्यायको पक्षमा एक विशाल र्‍याली र आम सभा आयोजना गरिएको थियो ।

मुख्य वक्ताको रुपमा श्रद्धेय दमन नाथ ढुंगाना र डा. मथुरा प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । मैले त्यतिञ्जेल अध्यक्षको हैसियतले दुवै मानव अधिकार एलाइन्स र गैरसरकारी संस्था महासंघको नेतृत्व गरिरहेको थिएँ । सभामा म आफै, सुम्निमा तुलाधर र दामोदर गौतमले पनि सम्बोधन गरेका थियौं । सो कार्यक्रममा गैर सरकारी संस्था महासंघका क्षेत्रीय अध्यक्ष दामोदर गौतम र सिविनका क्षेत्रीय प्रतिनिधि सिद्धराज पनेरु लगायतका साथीहरु स्थानिय आयोजकको रुपमा सकृय हुनुहुन्थ्यो ।

त्यतिञ्जेल, हाम्रो विवाह भएको एक महिना पनि भएको थिएन । पुस(माघको जाडो असाध्य कठ्याङ्ग्रिने नै थियो । कार्यक्रम सकिसके पश्चात् हामी बिस्तारै बासस्थानमा फर्केर कार्यक्रमको समीक्षा गर्‍यौं । गाउँगाउँबाट बाल बच्चा बोकेर हजारौं महिला, पुरुष र जन समुदायको उपस्थिति थियो । कार्यक्रम असाध्य सफल र प्रभावकारी भएकोमा दमन दाइ हर्षित हुँदै, ठट्टा गर्दै भन्नू भो, “आज, जाडो पनि निक्कै छ । गौरी बाबू र छोरी सुम्निमाको भक्खर विवाह भएको, लौ आज लोकल भाले खोजेर रमाइलो गर्नु पर्छ है ।” साथीहरुले त्यसको बन्दोबस्त पनि तत्कालै गर्नु भो । लोकल भालेको सुप पिउँदै दाइले हामीलाई भन्नू भो, “लौ, ह्यापी हनीमून इन रुकुम।” हामी सबै मज्जाले हाँस्यौँ र रमाइलो गयौं ।

९. बन्दीप्रत्यक्षीकरणमा सर्वोच्चको बहस, २०६२
देशमा राजा वीरेन्द्रको वंश नासको नारायणहिटी काण्ड पश्चात् सिंहासनमा राजा ज्ञानेन्द्र थिए। उनले सुनियोजित ढंगले संसदको बिघटन गरी निरंकुशता लाद्ने जुन काम गर्‍यो, त्यसको मैले अन्तराष्ट्रिय मञ्चहरुमा गम्भीर आलोचना गरेको थिंए। त्यतिञ्जेल, म जेनेभामा निरंकुशता विरुद्ध जनमत बनाउँदै थिँए । देशभर, सकृय राजनैतिक नेता कार्यकर्ता तथा नागरिक र मानव अधिकार अभियन्ताहरुको धडपकड शुरु भै सकेको थियो । कैयन देश बाहिर पलायन भएको अवस्था पनि थियो । त्यसैले, साथी, शुभेच्छुक, परिवार र आफू आवद्ध संस्थाहरुले हाललाई देश नफर्कन मलाई खबर पठाइरहन्थ्यो । तर, त्यस्तो संकटको वेला देश नफर्कनु मनासिव नहुने निश्कर्ष मैले निकालेको थिंए । त्यो कुरालाई श्रद्धेय पद्मरत्न तुलाधर र दमन दाइले सहि ठान्नु भयो ।

देश फर्किने क्रममा मलाई एअरपोर्ट बाट नै गिरफ्तार गर्‍यो । करीब १७ दिन मलाई प्रहरी प्रधान कार्यालयको सशस्त्र गणभित्रको हिरासतमा राख्दा दमन दाइ र पद्मरत्न तुलाधरले त्यहाँ मलाई भेट्न आउनु भएको थियो ।
सर्वोच्चमा मेरो बन्दी प्रत्यक्षीकरणको मुद्धाको विषयमा बहस भै राखेको थियो । सो विषयको उजुरी सर्वोच्च अदालतमा मेरो श्रीमती सुम्निमा तुलाधर र म स्वयं अध्यक्ष रहेको संस्था मानव अधिकार एलाइन्सका तत्कालीन महासचिव शान्ति अधिकारीले दिनु भएको थियो । बहसमा सुवास नेम्वाङ , शम्भु थापा, दिनेश त्रिपाठी, शेर बहादुर केसी, अग्नि खरेल, हरिकृष्ण कार्की आदि वकिलहरु सहभागी हुनुहुन्थ्यो । इजलासमा अचानक श्रद्धेय दमन दाइको प्रवेशले माहोल नै उज्यालो भयो ।

उहाँले बहसमा सरिक हुँदै गौरी प्रधानको गिरफ्तारी कानून सम्मत नभएको र यो सरासर मानव अधिकारको गम्भीर हनन् भएको हुनाले उहाँको तत्काल रिहाइ हुनु पर्ने माग गर्नु भयो । उहाँको उपस्थिति र बहस पैरवी हामी सबैको निम्ति महत्वपूर्ण रह्यो । इजलासमा हुनुहुन्थ्यो मा. न्यायधीश अनुप राज शर्मा र अन्य एक माननिय न्यायधिश। इजलासले गौरी प्रधानको हिरासत गैर कानूनी भएकोले तत्कालै यसै इजलासबाट उहाँलाई रिहाई गर्नु भन्ने आदेश भए पश्चात् दमन दाइले दरो संग हात मिलाउँदै बधाई दिनु भयो । तर, सर्वोच्च अदालतको परिसरबाट निस्कन साथ मलाई फेरि प्रहरीले गिरफ्तार गरी सम्मानित अदालतको मानहानी गरेको थियो ।
१०. पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठानको अध्यक्ष ।
करिब ६ महिना जति अघिको कुरा हो ।

एकदिन भेटमा दमन दाइले भन्नू भो । “गौरी बाबू, अब पद्मरत्न स्मृति राष्ट्रिय प्रतिष्ठानको जिम्मेवारी तपाईले सम्हाल्नु पर्‍यो । मलाई स्वास्थ्यले साथ देला जस्तो पनि छैन ।“ म आफू अव सबै खाले सार्वजनिक जिम्मेवारीबाट अलग भै सकेँको छुं । पद्मरत्नजी, मेरो आत्मीय मित्र भएको र तपाईं र छोरी सुम्निमाको अनुरोध हार्न नसकेर मात्र मैले यो जिम्मेवारी स्विकारेको हुँ ।” मैले भने, दाइ, यो जिम्मेवारी भन्दा पनि हाम्रो सम्मान हो । यसको जिम्मेवारी हामी लिइ हाल्छौं, तर, दाइ भए सम्म यो सम्मान त लिनै पर्छ, यो हाम्रो आग्रह हो ।उहाँले के सोच्नु भयो कुन्नी ? उहाँले भन्नू भयो, म प्रतिष्ठानको संरक्षक बनौँला र तपाईले अध्यक्षको जिम्मेवारी सम्हाल्नुस् । यो वार्तालाप भएको केही समय पछि नै उहाँ विमार पर्नु भो ।

उपचारको निम्ति उहाँलाई दिल्ली लानु पर्‍यो । दिल्लीमा उपचारको क्रममा उहाँको छोरी नीतिका र भतिज सुरज भट्टराई संग दैनिक जसो उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइराख्थे । उहाँको सल्लाह, सुझाव र मार्गनिर्देश अनुसार औपचारिक रुपमा दाइलाई संरक्षक र मलाई अध्यक्ष संस्थाको साधारण सभाले सर्वसम्मतिले निर्वाचित गर्‍यो । तर, अपशोच, त्यसको केही समय बित्न नपाउँदै, दमन दाइलाई, हामीले सदाको निम्ति गुमाउनु पर्‍यो ।

स्व. पद्मरत्न तुलाधरको निधनको ६ वर्ष पछि, यति छिटो दमन दाइलाई पनि गुमाउनु पर्ला भनेर हामीले सोचेका पनि थिएनौ । तर, उहाँ आफ्नो स्वास्थ्य र भविष्यप्रति साह्रै दूरदर्शि हुनुहुन्थ्यो रु’छ जस्तो लाग्यो । श्रद्धेय दमनदाइको निधन देश, राष्ट्र र हामी सबैको निम्ति एक अपूरणीय क्षति हो । देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको जग बस्दै गरेको वेला यसका दुवै सहजकर्ता श्रद्धेय दमन नाथ ढुंगाना र पद्मरत्न तुलाधरलाई गुमाउन हामी बाध्य भएका छौं । उहाँहरुको सपना साकार गर्न अवको कार्यभार देश, सरकार र नागरिक समाजले गम्भीरतापूर्वक जिम्मेवारी लिइ काम गर्न पर्ने अवस्था छ । श्रद्धेय दमन दाइमा उहाँले गर्नु भएको सबै राम्रा र दूरदर्शि कार्यको निम्ति हार्दिक धन्यवाद दिंदै उहाँमा भावपूर्ण श्रद्धाञ्जली !

प्रतिक्रिया दिनुहोस्