सिन्धुपाल्चोक | चौतारा साँगाचोकगढी नगरपालिका-१४, डडुवालाई ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमुक्त वडा घोषणा गरिएको छ । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आर्थिक तथा प्राविधिक सहयोग र वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा वातावरण संरक्षण, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण तथा दिगो जीवनशैली प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित वडा घोषणा गरिएको हो ।
नेपाल सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाएको स्मरण गराउँदै यस्ता प्लास्टिकले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने डिभिजन वन कार्यालयको तर्फबाट डिभिजनल वन अधिकृत ओमसागर भण्डारीले बताए । उनले प्लास्टिकका सूक्ष्म कण खाद्य चक्रसम्म पुग्ने भएकाले यसको प्रयोग न्यूनीकरण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
कार्यालयले सरकारको ‘एक जिल्ला, एक प्लास्टिकमुक्त वडा’ अभियानअन्तर्गत चौतारा साँगाचोकगढी-१४ लाई प्लास्टिकमुक्त वडा घोषणा गरिएको जानकारी दिँदै आगामी दिनमा यस वडालाई जिल्लाकै अग्रणी वातावरणमैत्री वडाका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य युवराज दुलालले वातावरण संरक्षण कुनै एक निकायको जिम्मेवारी मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गरे । उनले प्लास्टिकमुक्त अभियानलाई जनचेतनासँग जोड्दै घर-घरबाट व्यवहार परिवर्तन सुरु गर्नुपर्ने बताए । स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिकबीचको सहकार्यले मात्र स्वच्छ, हरित र दिगो समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गर्दै उनले घोषणा कार्यान्वयनमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए । साथै उनले वातावरण संरक्षणलाई नीति र व्यवहार दुवै तहबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले संसदमा आफूले किसानको हित, कृषि क्षेत्रको विकास तथा जनजीविकासँग जोडिएका विषयमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै वातावरण संरक्षण पनि कृषिको दिगोपनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए । प्लास्टिकजन्य प्रदूषणले माटोको उर्वराशक्ति, जलस्रोत तथा कृषि उत्पादनमै नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण आजको आवश्यकता भएको उनको भनाइ थियो ।

दुलालले वडा तहबाट सुरु भएका यस्ता अभियानले वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै घोषणा कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकार, सरकारी निकाय र नागरिकबीचको सहकार्यबाट मात्र स्वच्छ, हरित र दिगो समाज निर्माण सम्भव हुने उल्लेख गर्दै उनले प्लास्टिकको प्रयोग न्यूनीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वातावरण संरक्षणमा वडा बासिन्दाको एकता र सक्रियताको प्रशंसा गर्दै यस्ता अभियानलाई एउटा वडामा मात्र सीमित नराखी सम्पूर्ण नगरपालिकाभर विस्तार गर्नुपर्ने धारणा राखे । नगरपालिकालाई नै प्लास्टिकमुक्त घोषणा गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले एकपटक प्रयोग हुने प्लास्टिकको विकल्प खोज्न र मानव जीवनशैलीलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको बताए ।

नगर उपप्रमुख सीता थापाले घोषणा गर्नु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई व्यवहारमा उतार्नु सबैको साझा जिम्मेवारी भएको बताइन् । “आजको घोषणालाई कागजमा सीमित नराखी दैनिक जीवनमा लागू गर्नुपर्छ,” उनले भनिन् । वडा नम्बर १४ र डिभिजन वन कार्यालयको समन्वयमा सुरु भएको यो अभियानलाई नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । साथै वडा अध्यक्ष उदव नेपालले वडा नम्बर १४ लाई ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमुक्त घोषणा गर्नु केवल औपचारिक कार्यक्रम नभई वातावरण संरक्षणतर्फको सामूहिक संकल्प भएको बताए । यस अभियानलाई सफल बनाउन स्थानीयवासी, विद्यालय, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले वडाभित्र एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग न्यून गर्दै वातावरणमैत्री बानीको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताए।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई प्लास्टिकको प्रयोग घटाउने, पुनःप्रयोग गर्न सकिने तथा वातावरणमैत्री झोला पनि वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्