सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार जिल्ला सभापतिका लागि कमला खड्का, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासाङ दोर्जे तामाङ र माया गुरुङले उम्मेदवारी दिएका छन् ।
सभापतिका उम्मेदवारमध्ये माया गुरुङ प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण गरेकी तथा रास्वपा सिन्धुपाल्चोककी संस्थापक जिल्ला सभापति हुन् । निर्वाचनका क्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट टिकट पाउने सम्भावना रहे पनि टिकट नपाएपछि गुरुङप्रति आम कार्यकर्ताको सहानुभूति देखिएको रास्वपा कार्यकर्ताहरू बताउँछन् ।
यसअघि जिल्ला सभापतिका लागि दाबी गरेका जेपी सिलवालले भने उम्मेदवारी दिएनन् । रास्वपाको विधानअनुसार महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्तिले जिल्ला सभापतिको उम्मेदवार बन्न नपाउने भएपछि सिलवालले उम्मेदवारी नदिएका हुन् ।
उपसभापति पदका लागि सरोजा श्रेष्ठ, मुके शेर्पा र निमा याङछेन लामाले उम्मेदवारी दिएका छन् । सचिवमा राजिव हमालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने भएका छन् । त्यस्तै सहसचिव पदमा दोर्जे तामाङ र विदुर खड्काको उम्मेदवारी परेको छ । जिल्ला सदस्यका ७ पदका लागि भने ९ जनाले उम्मेदवारी दिएका छन् ।
रास्वपा सिन्धुपाल्चोकको यसअघि स्थगित जिल्ला अधिवेशन भोलि चौतारा छापस्थित कभर्डहलमा बिहान ८ बजेदेखि पुनः सञ्चालन हुँदैछ । यसअघि अधिवेशनको बन्द सत्रपछि जारी सबै प्रक्रियालाई सदर गर्ने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको थियो । तर, जिल्ला नेतृत्व चयनका लागि पुनः उम्मेदवारी मनोनयन गर्नुपर्ने निर्णय भएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ ।
यसअघि नै जिल्ला नेतृत्वका लागि उम्मेदवारी दर्ता भइसकेको थियो । उम्मेदवारी दर्तापछि नेतृत्व चयनलाई लिएर विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया मात्रै बाँकी रहेको अवस्थामा अधिवेशन स्थगित गरिएको थियो । पछिल्लो निर्देशनअनुसार जिल्ला नेतृत्वका लागि पुनः उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएपछि यसअघि सम्पन्न भएका प्रक्रिया प्रभावहीन बनेका छन् । यही विषयलाई लिएर केही नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै आएका छन् ।
अब पुनः सञ्चालन हुने अधिवेशनबाट जिल्ला नेतृत्व चयनका लागि मतदान हुनेछ ।
रास्वपा सिन्धुपाल्चोकको प्रारम्भिक उम्मेदवार सुची

रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्