२०८१ श्रावण १२
                           

हिउँमा हराएका मजदुरको उद्धार

चौतारा- रसुवा जिल्लाको रसुवागढी हाइड्रोपावर कम्पनीमा काम गर्ने ३३ वर्षीया सुरज तामाङ सदाझैं मजदुरी गर्दै थिए । ४ वैशाखमा घरबाट फोन आयो । श्रीमतीको डेलिभरी वैशाख २० मा हुने जानकारी थियो फोनबाट । आर्थिक अवस्था नाजुक भएकोले काममा गएको छोराले पैसा नल्याए घरपरिवार नचल्ने अवस्थामा पुगेको थियो । त्यसैले उनी जसरी पनि घर फर्कनै पर्ने बाध्यतामा थिए ।
मुलुक लकडाउनमा भएकोले आफ्नो घर सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा कसरी पुग्ने भन्ने चिन्ताले उनलाई सताइरहेको थियो । भोलिपल्ट घर जाने तयारीमा लागे । सवारी साधनबाट जिल्ला पुग्ने सम्भावना नदेखेपछि ६ वैशाखमा विहानै उठेर कम्पनीबाट उनी घरतर्फ हिँडे ।
लेकाली बाटो भएर रसुवाको स्याफ्रुबाट नुवाकोट हुँदै सिन्धुपाल्चोक निस्कने अठोट उनले गरे । साथी कोही थिएनन् । गर्भवती श्रीमतीलाई घर आउँदै छु भनेर फोनबाट ढाडस दिँदै बाटो छोट्याउँदै उनी अगाडि बढे । तर, ८ वैशाखदेखि उनको फोन परिवारको सम्पर्कबाट विच्छेद भयो । घरबाट धेरै फोन गरियो । तर, सम्पर्क हुन सकेन । परिवार आँत्तिएर १२ गते निवेदनसहित वडा कार्यालय पुग्यो । वडावासी हराएको निवेदन आएकोले वडाध्यक्ष कालीप्रसाद लामा तत्काल खोजी कार्यमा लागे । ‘मैले रसुवा, नुवाकोट, सिन्धुपाल्चोकका सिडिओ साबहरु, राजनीतिक दलका नेताहरुसँग हारगुहार मागेँ,’ उनले भने, ‘तर, पाँच दिनसम्म पनि केही टुंगो लागेन ।’ ८ वैशाखदेखि हराएका तामाङ हिउँ छिचोल्दै चार हातखुट्टा टेकेर १६ गते विहान १० बजे सूर्यकुण्ड फेदीमा रहेको दावादेवी होटेलमा निस्कन सफल भए । अझै बेहोश अवस्थामा रहेका उनले आफू १० गतेदेखि बाटो बिराएर हिउँमा फसेको बताएका छन् । तर, हिउँमा फसेपछि कहाँकहाँ पुगे र होटेलसम्म कसरी आइपुगे भनेर खुलाउन सकेका छैनन् । हिउँ पन्छाउँदै होटेल आइपुगेका उनलाई नुवाकोट दुप्चेश्वरका मालाङदुङ तामाङले दुई दिन घरेलु उपचार गरेका थिए । उनै तामाङले नेपाली सेनालाई मानिस फेला परेको सूचना दिएका हुन् ।
१७ गते दिनको १२ बजे अकस्मात लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत कुटुङसाङमा रहेको नेपाली सेनाको ब्यारेकबाट वडाध्यक्ष लामालाई फोन आयो । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित सूर्यकुण्डको फेदीमा सुरज तामाङ फेला परेको सेनाबाट उनलाई जानकारी भयो । ‘सेनाले उद्धार गर्ने व्यवस्थापन गर्नुस् भनेपछि म तत्काल नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुवोधको सम्पर्कमा पुगेँ,’ वडाध्यक्ष लामाले भने । केन्द्रीय सदस्य सापकोटा र बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले हिउँमा फसेर बेहोश अवस्थामा रहेका तामाङको १८ गते विहान हेलिकोप्टरबाट उद्धार गरेका हुन् । मजदूर दिवशकै दिनमा उद्धार भएका मजदुर तामाङको सिभिल सर्भिस हस्पिटल बानेश्वरमा उपचार भइरहेको छ । उनका शरीर हिउँले खाएको भएपनि खतरामुक्त रहेको उद्धारपछि अस्पताल पु¥याएर भर्ना गरी फर्केका नेता सापकोटाले बताए । १० दिनसम्म हिउँमा फसेका मजदुर तामाङको उद्धारपछि उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्