२०८१ मंसिर २३
                           

आगामी माघ १ देखि सुकुटेमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने

१० मंसिर, काठमाडौ । सिन्धुपाल्चोकको जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पुरुष र महिलातर्फ फरक–फरक खेल हुनेछ ।
सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन ब्यबसाय संघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुन लागेको हो ।

आयोजक संस्थाले काठमाण्डौं, भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा सोमबार पत्रकार सम्मेलन तथा सम्झौता कार्यक्रम गर्दै सुकुटेमा बीच भलिबल प्रतियोगिता बारे सार्वजनिक गरेको हो ।प्रतियोगिताका लागि नेपाल भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यबसायी संघबीच आज नै सम्झौता भएको छ ।

पर्यटकीय नगरी सुकुटेलाई खेल पर्यटनमार्फत थप पहिचान र प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास सिन्धु सुकुटे पर्यटन ब्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले बताए ।
राष्ट्रिय भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार ७ प्रदेशका एक पुरुष र एक महिला खेलाडी गरि १४ जना र विभागीय समूह नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट एक महिला र एक पुरुष गरी ६ जना खेलाडीको सहभागि हुने भएको छ ।

२० जना खेलाडीको सहभागिता रहने प्रतियोगिताको प्रथम, द्धीतिय, तृतीय र स्वान्त्वना पुरस्कार क्रमशः ५० हजार, २५ हजार, १५ र १० हजार रहेकोछ ।विजेता टोलीहरूले विश्व ‘बिच’ भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

कोरोनापछि केही सुस्ताएको सुकुटे करिडोर फेरि पुरानै लयमा फर्किएको छ। आन्तरिक र बाह्य पर्यटकका लागि चर्चित गन्तव्यको रूपमा प्रख्यात सुकुटे भोटेकोशी नदी किनारमा अवस्थित छ। ¥याफ्टिङका लागि चर्चित सुकुटे नेपालको पहिलो ‘बिच’ अवधारणाबाट अघि बढेको पर्यटकीय क्षेत्र हो। यस क्षेत्रमा आयोजना हुने यो प्रतियोगिता ऐतिहासिक हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्