९ मंसिर – मानव बेचबिखनको आरोपमा सिन्धुपाल्चोक र नुवाकोटका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कुवेतमा एक युवतीलाई करिब ४ लाख रुपैयाँमा बेचेको आरोपमा उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय माइला लामा तामाङ रहेका छन् ।
उनीहरूले ती युवतीलाई फ्री भिसा–फ्री टिकटको प्रलोभन देखाउँदै मासिक १२० केडी करिब ५० हजार रुपैयाँ कमाई हुने कामको आश्वासन दिएर कुवेत पठाएका थिए । कुवेतमा पुगेर ती युवतीलाई घरेलु कामदारका रूपमा ९०० केडी अर्थात् करिब ३ लाख ९४ हजारमा बेचिएको ब्यूरोका एसपी भावेश रिमालले जानकारी दिए
बेचिएपछि ती युवतीले घरेलु कामदारको रूपमा काम गर्नुपरेको मात्र होइन, यौन शोषणको समेत सिकार भइन् । अत्यन्त कठिन अवस्थामा कुवेत प्रहरीको सम्पर्कमा पुगेपछि उनको उद्धार भएको थियो ।
कुवेत प्रहरीको सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्किएकी थिइन् ।नेपाल फर्केपछि पीडित युवतीले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् । सोही आधारमा पक्राउ परेका कुसुम कँडेल र माइला लामाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्