२०८१ आश्विन २
                           

‘मिनि रङ्गाशाला जुगल गाउँपालिका आफैंले बनाउन लागे

३० साउन, सिन्धुपाल्चोक ।  जिल्लाको विकट तर स्रोत सम्पन्न जुगल गाउँपालिकाका अध्यक्ष अध्यक्ष स्याङ्बोका अनुसार यो मिनि रङ्गशाला गाउँपालिका आफैंले बनाउन लागेको हो । संघ र प्रदेशलाई पनि सहयोग मागेपनि सकारात्मक जवाफ नआएपछि पालिका आफैंले २०८३ सालभित्र काम सम्पन्न गर्ने योजनासहित काम गरिरहेको छ । उनका अनुसार आर्थिक बर्ष २०७९/८० मा ४३ लाख बराबरको काम भएको छ भने आर्थिक बर्ष २०८०/८१ मा ५० लाखको काम भएको छ । चालु आर्थिक बर्ष २०८१/८२ मा ३ करोडको ठेक्काको चरणमा छ । पाँच करोड बजेट नबढ्ने गरी निर्माण गर्न लागिएको यो मिनि रङ्गशाला निर्माणका लागि छनौट गरिएको माने डाँडा आफैंमा उपयुक्त स्थान रहेको गाउँपालिकाको दावी छ ।

पालिका भित्र अधिकांस स्थान बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिको जोखिममा रहेपनि मिनि रङ्गशाला निर्माणस्थल स्थिर प्रकारको भूगोलमा रहेको अध्यक्ष स्याङ्बोले सुनाए । चौताराबाट बाँसखर्क हुँदै र ढाँडे बाँसिम्ले हुँदै नियमित बस चल्ने यो स्थानमा पहिले पनि सिलवालहरुले टुँडीखेल बनाउन प्रयास गरेको इतिहास छ ।

पालिका अध्यक्ष स्याङ्बोका अनुसार पालिकाले हरेक वडामा केही न केही देखिने विकास निर्माणको काम गर्ने उदेश्यका साथ १ नंबर वडामा यो काम थालिएको हो । जुगलमा ७ वडा वडा छन् । वडा नं -१ सेलाङ ब्रम्हायणी नदी पारी छ । पहाडको थाप्लो परेको क्षेत्र सुरक्षित समेत ठानिएको छ । वडा नं -२ गोल्चेको भुभाग जोखिमयुक्त छ । लिदिको पहिरो यहाँको एक उदाहरण हो । वडा नं -३ गुम्बा हिमालहरुको काख हो । काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल यहिँ पर्दछ ।

वडा नं -४ पाङताङ, कात्तिके बजार चर्चीत छन् । वडा नं -५ मा ढाँडे बजार क्षेत्र, गाउँपालिका कार्यालय र चीन सरकारले बनाइदिएको चर्चीत रत्नराज्य माध्यमिक विद्यालय छ । वडा नं- ६ मा हाप्रा, विशिंखरलगायतका बस्ती र पानीको प्रसस्त स्रोत छ । वडा नं – ७ याङ्लाकोट चर्चीत बस्ती हो । प्रसिद्ध संयुक्त बस्ती याङ्लाकोट, विशिंखरले विशिष्ट पहिचान बोकेका छन् । गाउँपालिका भित्र मात्रै हाल १० वटा हाइड्रोपावर सञ्चालन र सञ्चारलको तयारीमा छन् । स्लेट ढुंगा, लेकाली आलु, निउरो, चौंरीको उत्पादन र जडीबुडीको उपलब्धताले भरिपूर्ण जुगलले मिनि रङ्गाशाला निर्माण गर्न लागेको हो ।
रंगशाला निर्माणबारे आएका प्रतिक्रियालाई सकारात्मक रुपमा लिंदै गाउँपालिका अध्यक्ष स्याङ्बोले युवा गाउँमा नहुनु राष्ट्रिय समस्या भएको बताए । समयमा काम सम्पन्न गरेर प्रश्नहरुको जवाफ दिने उनको धोको छ । जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरु, हरेक बर्ष हुने राष्ट्रपति रनिङसिल्डजस्ता खेलकुद गर्न, पालिका स्तरमा हुने अन्य खेलकुदका कार्यक्रम गर्न मिनि रङ्गाशाला प्रयोग गरिने उनको भनाई छ । पालिकाले यस कार्यका लागि विशेष प्राथमिकता दिएको अध्यक्ष स्याङबोले बताए ।

सिन्धुपाल्चोका व्यवस्थित खेलकुद मैदान बन्न सकेका छैनन् । चौतारामा निर्माणधिन रंगशाला पुरा हुन अझै समय लाग्ने देखिएको छ । प्रदेशबाट भएको लगानीमा कभर्डहलहरु र विद्यालय तथा क्याम्पसका चौरहरुमा खेलकुदको कार्यक्रम हुँदै आएका छन् । सेभेन ए साइड फुटबलका लागि समेत व्यवस्थित खेलमैदानको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्