२०८२ बैशाख १६
                           

डिसेन्डर स्ल्याबको ढलान भत्किँदा ज्यान गुमाएका कामदारका परिवारले ३० लाख पाउने

सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर ज्यान गुमाएका दुई जना कामदारका परिवारलाई कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँ प्रदान गर्ने भएको हो । ईलेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्याक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्शन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडाध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ ।

पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बीमाबापतको २० लाख रुपैयाँ परिवारको मुद्दति खातामा निक्षेपको रूपमा जम्मा गरिने छ । प्रतिपरिवार नगद सात लाख र डेढ लाख रुपैयाँ काजकिरिया खर्चबापत उपलब्ध गराइने भएको छ । मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ ।

आयोजना प्रबन्धक पराजुलीका अनुसार मृतक परिवारमध्ये एक परिवारको दुई वर्षकी छोरी र अर्काे परिवारमा मृतककी श्रीमती गर्भवती भएकाले गर्भवतीलाई पौष्टिक आहार तथा स्याहार सुसारका लागि आयोजनाले थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आयोजनाको ढलान भत्किँदा दुई जना कामदार यही असार २१ गते थिचिएका थिए । यो घटनामा घाइते भएका १० जनामध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको छ । अरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्