२०८१ मंसिर २३
                           

लामखुट्टेको लार्भा नष्ट गर्ने, जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोक

१७ असार , सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले डेंगुका बारेमा समुदायलाई सचेत तुल्याउँनका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान संचालन गरेको छ । गर्मी याम अझ मनसुन सुरु भएसँगै डेंगु फैलने भएकाले कार्यालयले सचेतनाको लागी चौतारामा लार्भा खोजी गरी नष्ट गर्न सरोकारवालासँग अभिमुखीकरण गरेको हो ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख दुर्गा बजगाईंले अहिले सम्म सिन्धुपाल्चोकमा ४५ जनामा डेंगु ज्वरोको सङ्क्रमण देखिएकोले डेंगु फैली जनस्वास्थ्य समस्याको रूपमा रहेको विदितै रहेकाले पूर्वतयारी अपनाउन आवश्यक रहेको बताउनुभयो ।

बजगाईंले गर्मी महिनामा डेंगु संक्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताउनुभयो । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण हुन् ।

सो क्रममा चौतारा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिन अनुरोध गर्नुभयो । डा. भण्डारीले बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घरबाहिर खेतबारी, हाँस, सुङ्गुर, बङ्गुर फार्ममा ननिस्कन अनुरोध समेत गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्