२०८१ श्रावण १२
                           

बलेफी-४ मा व्यावसायीक सुन्तला खेतीको सुरुवात

२६ जेठ, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नं -४ मेलडाँडामा व्यावसायीक सुन्तला खेतीको सुरुवात गरिएको छ ।मेलडाँडा सामुदायिक कृषी सहकारी संस्थाको संयोजनमा सुन्तला खेती सुरु गरिएको हो । सो कार्यको शनिवबार एक कार्यक्रमकाबिच जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले सुन्तलाको विरुवा रोपेर सुरुवात गरे ।

सुन्तला खेतीको सुरुवात पछि आयोजित संक्षिप्त कार्यक्रममा सांसद सापकोटाले पाइलट परियोजनाका रुपमा मेलडाँडाबाट सुरु भएको खेतीलाई क्रमश विस्तार गरेर वडा नं ३ र ४ लाई नमुना वडा निर्माण गर्नु पर्नेमा जोड दिए । सांसद सापकोटाले नगदमा विक्रि हुने सुन्तला खेतीबाट आर्थिक अवस्थामा सहजता आउने  र यसबाट पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले नगदेवाली र सहकारीको संयोजनमा हुने सामुहिक खेतीका लागि गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले कृषि उत्पादन सहित पर्यटन प्रवद्धनको उदेश्य पुरा गर्न प्रदेश एवं संघीय सरकारसँग सिंचाई र सिंडीका लागि सहयोगको अपेक्षा गरिएको बताए ।

काठमाडौं विश्वविद्यालयबाट कृषि विज्ञानमा विद्यावारीधि गरिरहेका सोधार्थी गोविन्द पाठकले सुन्तला रोप्ने तरिका र उपचार विधिका विषयमा जानकारी दिएका थिए । बलेफी गाउँपालिकाका कृषी अधिकृत सुवास अधिकारीले भूगोल सुहाउँदो भएकोले पालिकाले पकेट क्षेत्र बनाउन सहयोग गर्ने बताए । वडा न ४ का अध्यक्ष सुर्जे तामाङ ‘जागरण’ले सबै मिलेर व्यावसायीक खेती सफल पार्नु पर्ने धारणा राखे । सहकारी संस्थाका अध्यक्ष हरी तामाङका अनुसार आज खोकु जातका दुई हजार सुन्तलाका विरुवा रोपिएको छ । बलेफी – ४ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सुन्तला रोप्न खाल्डो खन्ने, पत्कर संकलन र झाडि सुधारको काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्