२०८१ श्रावण १२
                           

आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने

आर्या इन्टरटेन्मेन्टले ‘जुनियर सिङ्गिङ स्टार’ रियालिटी सो आयोजना गर्ने भएको छ ।आज  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै  कार्यक्रमको जानकारी गराइएको हो ।

आर्या इन्टरटेन्मेन्टका अध्यक्ष एवं जुनियर सिङ्गिङ स्टार कार्यक्रमका निर्देशक कपिल कार्कीले ‘नयाँ आवाजको खोजी’ नारा दिएर १६ वर्षभन्दा कम उमेरका प्रतिभाहरुका लागि रियालिटी सो आयोजना गरिएको बताए । ‘यो कार्यक्रम नेपालको मौलिकता बोकेको कार्यक्रम हो ।

यो कुनै फ्रेन्चाइज कार्यक्रम होईन । ‘नयाँ आवाजको खोजी’ भन्ने नारासहित जुनियर सिङ्गिङ स्टार कार्यक्रम गर्दैछौं,’– उनले भने । उनले उक्त रियालिटी सो कार्यक्रममा देशैभरका प्रतिभाहरुलाई सहभागी गराइने बताए । देशभरका विभिन्न ठाउँमा फिजिकल अडिसन र फिजिकल अडिसन सम्भव नभएको ठाउँमा अनलाइन अडिसनमार्फत प्रतिभा छनोट गरिने उनको भनाइ छ । ‘गायन क्षेत्रमा लाग्न चाहने १६ वर्षमुनिका बालबालिका, उहाँहरु जो संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने उहाँहरुको लागि राम्रो प्लेटफर्म हामी दिनसक्छौं,’– उनले भने ।

निर्देशक कार्कीका अनुसार देशका विभिन्न ठाउँबाट १०० जनाभन्दा बढी बालबालिकालाई कार्यक्रममा सहभागी गराइने छ । टप २५ सम्मका प्रतिस्पर्धी छनोटमा सबै भूमिका जजको नै रहने छ । निर्देशक कार्कीले टप २५ बाट टप १० सम्म आउँदा ५० प्रतिशत जजको भूमिका र ५० प्रतिशत भोटको भूमिका रहने बताए । त्यसैगरी, जुनियर सिङ्गिङ स्टारमा पहिलो हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई साढे दुई लाख र तेस्रो हुनेलाई एक लाख उपहार प्रदान गरिने बताइएको छ ।

गायक डिजराज पौडेल, प्रकाश तिमल्सिना र गायिका सरु गौतम जुनियर सिङ्गिङ स्टारको जज रहेका छन् । उक्त रियालिटी सो ग्लोबल टीभी एचडीबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रशारण हुनेछ । जुनियर सिङ्गिङ स्टारको भोटिङ पाट्नर इसेवा रहेको छ भने होस्टहरुमा घनश्याम तिमल्सिना एन्टिना,बिष्णुमाया पौडेल र दिभ्या बयलकोटी रहने छन। उक्त पत्रकार सम्मेलनको कार्यक्रम संचालन फिल्म निर्देशक तथा कलाकार घनश्याम तिमिल्सिना एन्टिनाले गरेका थिए। कार्यक्रममा गायक डिजराज पौडेल, प्रकाश तिमल्सिना र गायिका सरु गौतमले कार्यक्रम फलदायी हुनेमा आफुहरु बिश्वास्त रहेको जनाए।

प्रतिक्रिया दिनुहोस्