२०८१ आश्विन २
                           

कविताः कुल्लू तमाम

सुरेश बुढाथोकी फकिर 
गौरातीको पाँच डबका निगारले
डेग नहल्लिएको यो ज्यान
अरबको तातो हावाले रन्थनाउँछ
रन्थनिँदै,
साथीहरूको चित्त जत्रै
पचास दिनारको डेरामा आउँछु
र स्वाट्ट पिउँछु चिसो आसिर बुर्तकाल
निमेषमै ज्यानमा फूर्ति आउँछ
नाथे एक गिलास अरबी सर्बत खाँदा
ज्यानमा यस्तो फूर्ति आउँछ भने
किन नआओस् त्यत्रो चिया बगानै खानेहरूमा फूर्ति
सर्बत खाएर म
साइटतिर बेल्चा चलाउन हिँडेँ
गिरिबन्धु चिया खाएर ऊ
सरकार चलाउन हिँड्यो !
यो अरबमा जति खने पनि भेटिँदैन
गाउँमा जस्तो चिसो पानीको मूल
जति पुछे पनि आइरहन्छ गन्हाउने पसिना
जति छोपे पनि देखिन्छ देशको बेरोजगारी
तर खै केको आशमा हो
वर्षौंदेखि हानिरहेछ राई माइलो निरन्तर बेल्चा
मानौं यतै कतै पुरिएको छ
अरब आउनुअघि उसले
मेनपावरमा बुझाउन लिएको
ऋणको तमसुक
डिसेम्बरको एक भर्जिन बिहान
कुवेत टावरको टुप्पोबाट नियाल्यो उसले
अरब सागरमा तैरिरहेको गञ्जागोल शहर
र, देख्यो –
अल हमरा टावरको ७३ औं तल्लामा
बुरुस र बाल्टिन लिएर झुण्डिरहेको देशको भविष्य एभिन्यूज मलको ढोकामा
सलाम हानिरहेका स्वाभिमानी हातहरू
जाहारा फार्म हाउसमा ऊँट दोइरहेका कृषकहरू
इरानी बकलाबाट निस्तो खबुज लिएर
गुँड फर्किरहेका थकित गोडाहरू
शहरको हरेक बस स्टपहरूमा
यात्रुहरू बस पर्खेर बसिरहेका छन्
उता घरमा श्रीमती
महिना मर्ने दिन पर्खेर बसेकी छिन्
साथी, आइफोन पर्खेर बसेको छ
देश, रेमिट्यान्स पर्खेर बसेको छ
तर,  आमा
भात सँगै खाउँला भनेर छोरो कुरेर बसेकी छन्
यो जीवन पर्खाउने र पर्खिनेहरूको लुकिडुम रहेछ
नीलो समुद्रको नाइटोबाट
नाङ्लोजत्रै पहेँलो घाम निस्कनुअघि
सिरानीमा बिस्फोट हुन्छ
अलार्म नामक आणविक बम
बमले क्षतविक्षत बनाउँछ प्रियसीसँग
माईमेलामा हात समाउँदै
धान नाचेको सपना
यहाँ हर बिहान बिस्फोट हुने अलार्मले
मजदुरहरूलाई सपना देख्न निषेध गरेको छ
अरब सपना निषेधित क्षेत्र हो मनसरा
बितिगएका जिन्दगीको
भग्नावशेष स्क्रोल गर्दै जाँदा
रोकिन्छ आँखा देशको खातामा पुगेर
जहाँ मैले तिर्नु छ केही उधारो बक्यौता
खाँदा खाँदा खाइसकेपछि
कोदाको आइरक र इमानको आन्द्राभुँडी
बन्धकी राखेर बाको दुई पाखो बारी
काखे छोरो ब्युँझिनुअघि
पुगेको थिएँ म हवाईअड्डा
मैले झिसमिसेमै ओछ्यानमा छाडेर हिँडेको छोरोले
पाँच सालपछिको एक आयातित ‘फादर्स डे’ को दिन
भिडियो कल गरेर सोध्यो –
‘हाउ आर यु बाबा ?’
किलकिले अवरुद्ध भयो
बजारमा छ्यापछ्याप्ती पाइने
रेडिमेड मःम का डल्लाहरूजस्तै
मैले एउटा रेडिमेड उत्तर दिएँ –
‘कुल्लू तमाम बेटा ।’
००
(कुल्लू तमाम* (अरबिक ) – सबै ठीक छ)
 सिन्धुपाल्चोक
          हालः कुवेत, डेथभ्याली 
साभार साहित्य पोस्ट

प्रतिक्रिया दिनुहोस्